किन माओवादी र प्रचण्डमाथि निरन्तर खनिन्छन् बाबुराम ?
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराईले पछिल्लो चरणमा आफ्नो निशानामा माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि केन्द्रीत गरेका छन् ।
प्राय सामाजिक सञ्जालमा सक्रिय देखिने भट्टराईले आज पनि आफ्नो निशानामा प्रचण्ड र माओवादीलाई नै पारे ।
डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् ।
वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले टिप्पणी गरेका हुन् ।
माओवादी आन्दोलन केही कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बने यताकै क्रान्तिकारी र रूपान्तरकारी आन्दोलन भएको र ०७२ सालमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै ऐतिहासिक कार्यभार पुरा गरेको भट्टराईले लेखेका छन् ।
‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला। किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ । परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो’, उनले लेखेका छन् ।
भट्टराईले संविधान जारी पछिको आन्दोलनलाई आफ्नो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (आर्थिक–सामाजिक) रूपान्तरण पूरा गर्न बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नु पर्नेमा प्रचण्डकै कारण दुर्दशा भएको आरोप लगाए ।
उनले प्रचण्डको पार्टीको संसदीय सिट संख्या ३२ नभई ३० भएको उल्लेख गरेका छन् । २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानुनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दाबी गरेको भट्टराईले स्पष्ट पारेका छन् । साथै गोरखा र सर्लाहीका निर्वाचन क्षेत्रमा नेसपाको उल्लेख्य मत जोडेर मात्र बढी देखिएको उनले दाबी गरेका छन् ।
यसअघि ५ दिनअघि उनले लेखेका थिए, 'प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर 'पूर्व माओवादीहरू' एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले 'सुशाशन'को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।
यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छ:-
पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो?
स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं- माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुॅजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुॅजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध ( unequal and dependent relations) मा बाँधिन पुगेका छौं।
यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार-राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाॅचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाॅ युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाॅकी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले नयाॅ युगको नयाॅ कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाॅ विकास गर्नु परेेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाॅ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद ( enhanced/enriched socialism) भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं।
हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नयाॅ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले 'सबै पूर्व माओवादी एक ठाउँमा आउँ ' भन्नुको के अर्थ रहन्छ?
माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो 'कम्युनिष्ट' सत्ताहरू सबैतिर तासको घर झैं ढल्दै गैरहेको, भूमण्डलीकृत नव-उदारवादी पुॅजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, ए.आई.को अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटील भूराजनीति, चरम जातीय/भाषिक/क्षेत्रीय विविधता, अति अविकसित/अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन?
यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्व माओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोंच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषत: सिर्जनशील तथा उर्जावान नयाॅ पुस्ताका युवाहरू वीच बृहद बहस चलाएर नयाॅ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र?
दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा 'भ्रष्टाचारविरोधी' ' सुशाशनकोनिम्ति' आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि ( common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दी/उर्दू उखान- 'सौ चूहा खा के बिल्ली हज करने चली' भने जस्तै हो! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुॅदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन। यदि त्यो सबै 'क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र' हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्य ब्रिटेनका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला?ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला?
हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन्। तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान्? अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र?
अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो निर्वाचन क्षेत्र छोडिस् त? भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ- म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हुॅ। देशमा निरन्तर राजनीतिक अस्थीरता भैरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहको र TRC लगायतका शान्तिप्रकृयाका काम पूरा नभैरहेको तत्कालीन विशिष्ठ स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउबा र प्रचण्डलाई बालुवाटारमा संगै राखेर स्वेच्छाले आफु चुनाव नलड्ने तर वहाॅहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने वाचा गरेको हुॅ। तर चुनाव पछि प्रचण्डको चरम निजी सत्तालिप्सा पुन: बौरिइहाल्यो। पहिले एमाले- माओवादी सरकार बन्यो। त्यसपश्चात पनि कांग्रेस-एमाले-माओवादी र अन्य सहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो। तर भूराजनीतिको प्रवेश र प्रचण्ड त्यसको प्रमुख गोटी बन्ने सिलसिलापछि सबै भताभुंग भयो। त्यस यताको म्यूजिकल चेयर र मूलत: प्रचण्डको विविध लज्जास्पद हर्कतको दुष्परिणाम जगजाहेरै छ। फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ!! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा ( नयाॅ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो।'
एक महिना अघि प्रचण्ड र रविन्द्र मिश्रबीचकाे भेटबारे टिप्पणी गर्दै बाबुरामले भनेका थिए, 'वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याॅउ गरिहाल्छ रे!प्रचण्ड र रवीन्द्र मिश्र वीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ अहिले 'बिरालो म्यॉउ' गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।
यसको अर्थ हो- गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साॅटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!'
प्रतिकृया दिनुहोस