आफ्नै घरमा नेपाल फेरि निराशः बंगलादेशले जित्यो साफको उपाधि

काठमाडौं । नेपाल फेरि एक पटक आफ्नै घरेलु मैदानमा निराश बनेको छ । साफ महिला फुटबलको फाइनलमा साविक विजेता बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएसँगै नेपालले लामो समयदेखि उपाधि जित्ने अवसर गुमाएको हो ।
बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन । बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्दा नेपाल भने छैटौं पटक फाइनलमा पराजित हुन पुग्यो ।
पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । सुरुवाती १० मिनेटमा दुवै टोलीको प्रहार क्रसबारमा पनि लागेको थियो । दोस्रो हाफको सुरुवातमै बंगलादेशले अग्रता लियो । तर नेपालले ५ मिनेट पछि नै खेल बराबरीमा ल्यायो । खेलको अन्त्यतिर बंगलादेशले गोल गर्दै पुन: अग्रता लियो । त्यसपछि भने नेपाललाई आक्रमण बुन्न बन्चित गर्दै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्यो ।
खेलको पहिलो मिनेटमा नै नेपाल ठूलो संकटबाट बच्यो । गीता राना गोलकिक प्रहार गर्ने क्रममा चिप्लिन पुग्दा उनको प्रहार सिधै तोहुरा खातुनको खुट्टामा पुग्यो । तोहुराको प्रहार क्रसबारको भित्री भागमा लाग्दै फर्कियो । त्यसको रिबाउन्डमा तोहुराकै हेडरलाई गोलरक्षक एन्जिलाले समातिन् ।
दशौं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा क्रसबार नै बाधक बन्यो । अमिशा कार्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बारमा लागेको थियो । गोलरक्षक रुपना चक्माले रोक्न नसकेको बललाई साम्बाले पेनाल्टी क्षेत्र बाहिर लागेर अमिशालाई दिएपछि उनले दुई टच लिँदै प्रहार गरेकी थिइन् ।
खेलको २४ औं मिनेटमा गोलरक्षक रुपनाको अर्को गल्तीमा नेपाल फाइदा उठाउन असमर्थ रह्यो । विमला विकको क्रस रुपनाले ६ यार्ड बक्सनजिक फुस्काएपनि उक्त बलमा साम्बा पुग्न नपाउँदै डिफेन्डर अफिदाले क्लियर गरिदिइन् ।
दोस्रो हाफको ५० औं मिनेटमा नै बंगलादेशले अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र नेपालको डिफेन्सले क्लियर गर्न नसकेको बललाई मोनिका चक्माले दोस्रो टच लिँदै गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई बिट गरिन् ।
फाइनलमा नेपाली टिमलाइ हाैसला दिन रंगशालामा १० हजार भन्दा धेरै दर्शकहरूकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिकृया दिनुहोस