• २०८१ पौष १८ बिहीबार
  • Thursday, 2 January, 2025

टिम हारेकाे नैतिक जिम्मेवारी लिँदै प्रशिक्षक तामाङले दिए राजिनामा

काठमाडौं । फाइनलमा आफ्नो टिम उपाधि विमुख भएपछि नेपाली महिला फुटबल टिमका प्रशिक्षकले राजिनामा दिएका छन् । 

साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल २–१ गाेल अन्तरले पराजित हुँदा मुखैमा पुगेकाे उपाधि चुम्नबाट विमुख भएकाे थियाे । टिम हारेकाे नैतिक जिम्मेवारी लिदै मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका हुन्।

बुधबार फाइनल खेलको नतिजा बंगलादेशको पोल्टामा पुगेपछि प्रशिक्षक तामाङले राजीनामा घोषणा गरेका छन्। उनले अब राष्ट्रिय टोलीसँग काम नगर्ने र क्लब फुटबलमा नै जाने जानकारी दिए।

‘मैले आजैबाट महिला टोली छाडेको छु। अब म महिला टोलीमा हेर्दिन। अब म क्लबतिर जान्छु,’ उनले भने।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको हो। छैटौँपटक फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामा सीमित बनेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८० माघ १० मा तामाङलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसअघि उनले थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब सम्हालेका थिए।

गत फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उनले नेपाललाई फाइनल पुर्‍याएका थिए। त्यतिखेर जोर्डनसँग पराजित भएको नेपालले उनको प्रशिक्षणमा साफ पनि हारेको हो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर