• २०८१ कार्तिक १७ शनिबार
  • Saturday, 2 November, 2024

रिहा भए कृष्णबहादुर महराका छोरा राहुल महरा

काठमाडौं । सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् ।

अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी रिहा भएका हुन् ।

इलेक्ट्रिक चुरोट (भेप)  मार्फत भएको नौ किलो सुन तस्करी गरेको आरोपमा मुछिएपछि वयानको लागि आफै सिआइबीमा हाजिर हुन पुग्दा थुनिएका उनी एक वर्षपछि अस्ति १३ गते मंगलबार छुटेका हुन् ।

पक्राउ परेको एक महिनापछि असोज २५ गते उनी काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा पुगेका थिए । 

 २०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबु–छोराको निरन्तर फोन सम्पर्क भएको देखिएको थियो ।

राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले थुनामा राखेकाे थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए । पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ ।

त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार स्रोतले जानकारी दिएको छ । बाबु कृष्णबहादुर महरा पनि सोही प्रकरणमा गत चैतमा पाँच दिनमा हिरासतमा बसेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर