• २०८१ कार्तिक १७ शनिबार
  • Saturday, 2 November, 2024

जग्गा दानको बचाउमा कार्यकर्ता नउत्रीएपछि रिसाए पृथ्वी सुब्बा


काठमाडौं ।  नेकपा (एमाले) का उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का नेता तथा कार्यकर्ताहरुले ‘जग्गा दान’ बारेमा बचाऊ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेकपा (एमाले)लाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ दम्पतीले एमालेको भवन निर्माणको लागि कीर्तिपुर नगरपालिका– २  मैत्रीनगरमा जग्गा दान गरेका थिए । 

जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । 

यो बिषयमा एमालेको चौतर्फी आलोचना भएको छ । यस बिषयमा नेता तथा कार्यकर्ताहरुले बचाऊ गर्न नसेकेको मन्त्री गुरुङको भनाई छ । एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी मिनबहादुर गुरुङले दिएको दानको विषयलाई पनि अनावश्यक ढंगले उचालेर एमालेलाई कमजोर बनाउने काम भईरहेको बताए।

गुरुङले देशी–विदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरे । देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भएपनि उनलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो।

उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए।  गुरुङले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नउभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

उनले एमालेका नेता तथा कार्यकर्ताहरुले कार्यशैली सुधार गर्नुपर्ने पनि बताए । उनले भने, ‘अहिले हामीले मिसन ०८४ भनेका छौं। यस्तो पाराले मिसन ०८४ ले हावा खान्छ । त्यो पुरा गर्ने हो भने सबै वामपन्थीहरुको आस्थाको केन्द्र एमाले बनाउनुपर्छ । सबैलाई एमालेमा ल्याउनुपर्छ । त्यो आयो भने मेरो ठाउँमा त्यो उम्मेवार हुन्छ भन्ने सोचले अगाडि बढ्न सक्दैन । अरु पार्टीका राम्रा नेताहरुलाई ल्याउन पहल गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर