अध्यक्ष प्रचण्डले आफ्ना उम्मेदवारलाई दिए जितको शुभकामना
- उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानकै निरन्तरता हो -‘प्रचण्ड’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रुपमा अघि बढाउन निर्देशन दिएका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरुसँगको भेटमा उनले भने, ‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौं, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो । त्यसैले आसन्न उपनिर्वाचनको मुख्य एजेण्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रुपमा अघि बढ्ने छ ।’
माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि थालेको कारवाहीका कारण जनताको बीचमा महत्वपूर्ण सन्देश गएको र अहिलेको सरकारले गरिरहेको गतिबिधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचारविरोधी कसलाई छनौट गर्ने भन्ने परीक्षणको समय पनि हुने उनले बताए ।
माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई अघि सारेको छ । त्यस्तै माओवादी केन्द्रले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा ईञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।
कीर्तिपुर नगर समितिले तिनै जना उम्मेदवार सर्वसम्मतरुपमा चयन गरेको जानकारी गराएपछि खुशी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सर्वसम्मत उम्मेदवार छनौटले जीतको राम्रो सुरुवात गरिसकेको बताए । उनले विगतका अनुभव हेर्दा चुनावमा हार्नुमा आन्तरिक एकता नहुनु समस्याको रुपमा रहेको उल्लेख गर्दै उहाँले यसपटक आन्तरिकरुपमा पार्टी एक भएर उम्मेदवार छनौट गर्नु, सबै नेता कार्यकर्ता चुनावमा खटिन तयार हुनु र राष्ट्रियरुपमा पार्टीको पक्षमा माहोल बन्दै गएकाले यसपटक कीर्तिपुरसहित धेरै नयाँ ठाउँमा उपचुनाव जितिने आधार बनेको बताए ।
सो क्रममा नगर प्रमुखका उम्मेदवार महर्जनले जित्ने विश्वासका साथ अघि सरेको उल्लेख गर्दै आफू निवृत्त प्राध्यापक भएकाले जितेमा सबै तलब भत्ता सामाजिक काममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार निमलेखी शेर्पा(डोल्मा)लाई पनि अध्यक्ष प्रचण्डले आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिएका थिए । सो क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिशाल खड्कालगायतले गौरीशंकर गाउँपालिकामा भएको चुनावी तयारीबारे जानकारी गराए ।
प्रतिकृया दिनुहोस