उपनिर्वाचनलाई माओवादीले भ्रष्टाचारविराेधी सुशासनको अभियानका रूपमा अघि बढाउने
काठमाडाैं । माओवादीले स्थानीय तह उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्धको अभियानका रूपमा अघि बढाउने भएको छ ।
सुशासनलाई केन्द्रमा राखेर भ्रष्टाचारविरुद्ध खरो रूपमा उत्रिने माओवादीले जनाएको छ । उपनिर्वाचन हुने पालिका र वडाका कमिटी तथा उम्मेदवारलाई सुशासनलाई मुख्य एजेन्डा बनाएर प्रस्तुत हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको माओवादी उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘माओवादी सरकारमा हुँदा अगाडि बढाएको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डा लिएर जनतामा जान्छौैँ । स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताका रूपमा अघि बढाउनेछौँ,’ उनले भने । भ्रष्टाचारको अन्त्य नभएसम्म देश विकास हुन नसक्ने र जनताले परिवर्तनको महसुस नगर्ने माओवादीको निष्कर्ष छ ।
भ्रष्टाचारविरोध अभियान तीव्र भइरहेका वेला बिचौलिया र भ्रष्ट मिलेर प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी माओवादीले गर्दै आएको छ ।
सुशासनको पक्षमा माओवादीले गरेको कामबाट जनतामा राम्रो सन्देश गएको भन्दै सो पार्टीका नेताहरूले निर्वाचनमा त्यसको प्रभाव पर्ने बताएका छन् ।
माओवादीले कांग्रेस र एमालेबाहेकका दलहरूसँग स्थानीय आवश्यकताका आधारमा सहकार्य हुन सक्ने जनाएको छ ।
तर, कांग्रेस र एमालेसँग भने उपनिर्वाचनमा सहकार्य नहुने माओवादीले स्पष्ट पारेको छ । आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि माओवादीले २६ कात्तिकसम्म उम्मेदवार चयन गरिसक्ने जनाएको छ ।
काठमाडौंको कीर्तिपुरको मेयरमा प्राध्यापक शिवशरण महर्जन, माेरङ ग्रामथानमा माओवादी केन्द्रले नवोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।
प्रतिकृया दिनुहोस