• २०८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024

सत्तारुढ दलका नेताकै असन्तुष्टिः भ्रष्टाचारले देश पीडित भइसक्यो

काठमाडौं ।  कांग्रेस नेता डा. शेखर कोइरालाले भ्रष्टाचारबाट देश पीडित भइसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी अभिव्यक्ति दिए पनि वास्तवमा अवस्था के छ भन्ने कुरा सबैलाई जानकारी रहेको कोइारालाको भनाइ छ । 

उदयपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रममा कोइरालाले देशको अवस्थाले चिन्तित बनाएको बताए । 'भ्रष्टाचार र सुशासनले हामीहरू पीडित छौं, तपाईंहरू सबै पीडित हुनुहुन्छ, देश पीडित भइसक्यो,' कोइरालाले भने, 'भ्रष्टाचारका विषयमा पटकपटक प्रधानमन्त्रीजीले नभिरहनुभएको छ 'म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ' भन्नुभएको छ, तर कस्तो अवस्था छ भन्ने कुरा भनिरहनुपर्ने आवश्यकता छैन । देशको जुन अवस्था छ त्यो अवस्थाले भोलिको दिन कसरी जान्छ भन्ने कुरा अत्यन्त गम्भीर विषय बनेर गएको छ । चिन्ता लाग्छ कतै देश असफल राष्ट्रतिर त जाँदैन ?'

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार गठनको आधार सातबुँदे अनुसार काम नभएको पनि डा. कोइरालाको भनाइ थियो । 'प्रधानमन्त्रीजीले नै सातबुँदेबारे संसद्मा आफ्ना विचारहरू राखिसक्नुभएको छ । त्यसमा संविधान सुधारका कुराहरू पनि छन् भन्नुभएको छ उहाँले । तर अहिलेको १०० दिनमा संविधान सुधारका कुनै पनि कुराहरू अगाडि बढ्न सकेको छैन,' उनले भने ।

एमाले र कांग्रेसले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नभएपनि सरकारका गलत कामको आलोचना र खबरदारी गर्नुपर्ने डा. कोइरालाको भनाइ थियो । उनले जनतालाई पनि सरकारलाई खबरदारी गर्न र गलत गरेमा सच्याउँदै जाने बनाउन आह्वान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर