• २०८२ जेठ १५ बिहीबार
  • Thursday, 29 May, 2025

भैरहवामा रास्वपा समर्थक र सहकारी पीडितको दुईतिर प्रदर्शन

काठमाडौं । सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रवन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि मंगलबार उनका समर्थकले प्रदर्शन गरेका छन् ।

रास्वपा कार्यकर्ताले भैरहवाको बुद्धचोकमा भेला भएर सभापतिको रिहाई माग गर्नुका साथै पक्राउको विरोध जनाएका हुन् ।

जिल्लाभरबाट रास्वपाका कार्यकर्ता भेला भएका थिए ।

सभापति लामिछानेलाई पोखराबाट बुद्ध एयरको जहाजबाट बिहानै भैरहवा ल्याउने जनाइएको थियो । खराब मौसमका कारण विमानस्थल नखुलेपछि मध्यान्हमात्रै लामिछानेलाई भैरहवा विमानस्थल ल्याइएको थियो ।

जहाजबाट विमानस्थलमा उत्रिने वित्तिकै लामिछानेलाई प्रहरीले अति विशिष्ट कक्ष हुँदैं गाडीबाट बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको थियो । त्यसक्रममा विमानस्थल बाहिर समर्थक र कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

रास्वपा कार्यकर्ताको मोटरसाइकल र्‍याली बुद्ध चोकबाट सुरु भएर विमानस्थल, गल्लामण्डी हुँदैं पुनः बुद्ध चोक पुगेको थियो । कार्यकर्ताले प्रदर्शन शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रदर्शनकर्ताका लागि आचारसंहिता सार्वजनिक गरेका थिए ।

उता सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् ।

सदरमुकाम भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालय नजिकै पीडितले प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग गरेका हुन् ।

सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले 'सहकारीपीडितलाई न्याय दे', 'सहकारी ठग्न पाइँदैन', 'सहकारी ठगीको निष्पक्ष छानबीन गर' लगायत नारा लगाएका थिए । प्रदर्शनमा ५० भन्दा धेरै पीडित सहभागी भएका थिए । सहकारीपीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर