• २०८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024

लामिछानेसहित सहकारी ठगीमा मुछिएकाकोे सम्पत्ति रोक्का गर्दै सरकार

काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ भई अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सहकारी ठगीको आरोप लागेका सबैको सम्पत्ति रोक्काका लागि पत्राचार गरिएको छ । 

सहकारी ठगीका अभियुक्तहरूको बैंक खाता, शेयर, जग्गा–जमिनलगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिससकिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौंथो पटक म्याद थप्ने क्रममा कास्कीका जिल्ला न्यायाधीश नवराज दाहालले अभियुक्तको सम्पत्ति रोक्का भए-नभएको र बिगो के छ भनेर प्रश्न राखेको स्रोतले जानकारी दिएको छ । 

यता जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका प्रमुख जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अभियुक्तहरूको सम्पत्ति रोक्का राख्न अनुसन्धान अधिकृतले पत्राचार गर्नुपर्ने बताउँदै यस विषयमा प्रहरीले आफूलाई जानकारी नदिएको जानकारी दिइन् । 

अभियुक्तको सम्पत्ति रोक्का राख्न अनुसन्धान अधिकृतले मालपोत, बैंक लगायत सम्बन्धित निकायमा पत्राचार गर्नुपर्ने प्रक्रिया रहेको जानकारी दिंदै उनले भनिन्, ‘अनुसन्धान प्रतिवेदन आइसकेपछि सम्पत्ति रोक्का राख्न पत्राचार गरेको छैन भने हामी गर्छौं ।’ 

उनले सहकारी ठगीका अभियुक्तहरू क–कसले के कति बिगो तिर्ने भन्नेबारे अदालतको फैसलापछि मात्र थाहा हुने बताइन् । फैसलापछि अदालतको फैसला कार्यान्वयन शाखामार्फत दोषी ठहर भएका व्यक्तिको सम्पत्ति बिक्री गरेर पीडितले आफ्नो बचत फिर्ता पाउने उनले जानकारी दिइन् । 

इजलासमा न्यायाधीश दाहालले सहकारी पीडितको रकम फिर्ता हुने बाटो के हो ? बिगो के छ ? अभियुक्तहरूको धन सम्पत्ति के छ ? भनेर अनुसन्धान अधिकृतलाई सचेत गराएको इजलासमा उपस्थित सहकारी पीडित किरण श्रेष्ठले जानकारी दिए । अहिले रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान चलिरहेको छ ।

अदालतबाट दोषी ठहर भएका व्यक्तिले आफ्नो भागमा परेको बिगो तिरेन र उसको नाममा सम्पत्ति पनि भएन भने त्यसको दायित्व परिवारमा सर्ने कानुनी प्रावधान रहेको प्रमुख जिल्ला न्यायाधिवक्ता काफ्लेले जानकारी दिइन् । 

पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी ढंगले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम लगेर हिनामिना गरेको आरोप लामिछानेमाथि छ । उनीसँगै पूर्व डिआइजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाई लगायतमाथि अहिले अनुसन्धान जारी छ । उक्त सहकारी ठगीका मुख्य अभियुक्त मानिएको सहकारी सञ्चालक एव गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई भने फरार छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर