बेलायती चर्चित मिडिया गार्डियनले अबदेखि एक्समा पोस्ट नगर्ने
एजेन्सी । बेलायती अखबार द गार्डियनले सोसल मिडिया प्लाटफर्म 'एक्स' मा केही पनि सामग्री पोस्ट नगर्ने जनाएको छ । गार्डियनको सम्पादकीय टिमले बुधबार सामाजिक सञ्जाल एक्समा अबदेखि केही पनि पोस्ट नगर्ने जनाएको हो ।
गार्डियनको सम्पादकीय टिमले आफ्ना सामग्री एक्समा पोस्ट नगरे पनि पाठकहरूले भने गार्डियनका सामग्री पोस्ट गर्न सक्ने जनाएको छ । गार्डियनले एक्समा सामग्री पोस्ट नगर्ने कारण खुलाउँदै लेखेको छ, 'हामीलाई लाग्छ अब एक्समा नकारात्मकता धेरै छ । हामीले आफ्नो पत्रकारितालाई अझै प्रवर्द्धन गर्न हाम्रा संसाधनलाई प्रभावकारी ढंगले प्रयोग गर्न सक्छौँ ।'
गार्डियनले यसबारेमा लामो समयदेखि विचार गरेर निर्णय लिएको पनि जनाएको छ । एक्समा प्राय:जसो अतिदक्षिणपन्थी प्रचारबाजी र नश्लवादसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गरिएको पनि गार्डियनले जनाएको छ ।
गार्डियनले अमेरिकी चुनावले समेत एक्सको नकारात्मकतालाई अझ प्रस्टसँग उजागर गरेको जनाएको छ । गार्डियनले लेखेको छ, 'अमेरिकी चुनावले पनि यस कुरालाई पुष्टि गरेको छ कि एक्स एउटा टक्सिक प्लाटफर्म हो । यसका सञ्चालक इलन मस्कले राजनीतिक विमर्शलाई प्रभावित पार्न यसको प्रयोग गर्न सक्छन् । '
प्रतिकृया दिनुहोस