• २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024

माओवादीले सभा गरेको स्थल छोडेर एमालेले किन रोज्यो भिडभाड हुने दरवारमार्ग ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले शक्ति प्रदर्शन गर्ने भनेर आयोजना गरेको सभाको स्थल परिवर्तन गरेको छ ।

यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको आगामी ७ गतेको एमालेको सभा दरवारमार्गको सर्वसाधारणको भिड हुने सडकमा सारिएको छ । 

जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराईले बुधबार सूचना जारी गर्दै सभा दरबारमार्गमा हुने जानकारी दिएका छन्।

जागरण सभाअघि हुने र्‍याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरू हुने भट्टराईले जानकारी दिएका छन्।

भद्रकालीबाट सुरू हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ। भट्टराईले ट्राफिक व्यवस्थापन पनि सोही बमोजिम मिलाउन आग्रह गरेका छन्।

एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा गर्न लागेको हो।

मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ।

जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्देश्य लिएको भट्टराईले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर