• २०८१ मङ्सिर २९ शनिबार
  • Saturday, 14 December, 2024

कुन-कुन कुरामा ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा एमाले र कांग्रेसबीच सहमति भयो त ?

काठमाडौँ । लामो समयको गृहकार्यपछि सत्तारुढ दलहरु कांग्रेस र एमाले चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन तयार भएका छन् ।

कांग्रेस र एमालेको कार्यदलले अब ‘आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार’ आदि क्षेत्रमा सीमित भएर ‘बीआरआई सहकार्य फ्रेमवर्क’को मस्यौदा सहमतिमा तयार पारेको हो ।

गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले बीचमा ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा सहमति भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका दौरान द्वीपक्षीय हस्ताक्षरको लागि प्रस्ताव गरिने जानकारी दिए ।

कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ, ‘सन् २०१७ को समझदारीपत्रको धारा ३ (२) मा कुनै पनि विशेष क्षेत्रमा सहयोगको लागि दुई पक्षले पारस्परिक सहमतिका सर्तहरुमा आधारित सम्झौता वा अन्य सहयोगका दस्तावेज सम्पन्न गर्ने प्रावधान उल्लेख भएको छ । तसर्थ सबैरव्यापक क्षेत्र समेटेरभन्दा पनि कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने अहिलेको लागि आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार आदि क्षेत्रमा सीमित भएर सहकार्य फ्रेमवर्कको मस्यौदा तयार गरेको छ ।’

साथै, मस्यौदामा नेपालले अनुदानमात्र स्वीकार गर्ने र त्यो पनि नेपालको आवश्यक र राष्ट्रिय आवश्यकतामा निहीत हुने विषय पनि मस्यौदामा समेटिएको कार्यकालका एक नेताले कान्तिपुरलाई जानकारी दिए ।

उक्त सहकार्य फ्रेमवर्कको अन्य सहकार्यको क्षेत्रहरु (शिक्षा, विज्ञान, बौद्धिक सम्पत्ति, कृषि र वन, भूविज्ञान, वाणिज्य, भन्सार तथा गुणस्तर) मा समझदारीको प्रावधानअनुसार नै भविष्यमा छुट्टै सहकार्यको दस्तावेज सम्पन्न गर्न सकिने मस्यौदामा उल्लेख गरिएको छ । त्यसको मतलब अब नेपालले यस पटक केपी शर्मा ओलीको चीन भ्रमणको दौरानमा ‘आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना र व्यापारमा’ मात्र सीमित भएर सम्झौता गर्ने छ ।

चीनले प्रस्ताव गरेको ‘बीआरआई कार्यक्रम कार्यान्वयन सम्झौता’ मस्यौदामा व्यापक परिवर्तन गर्दै दुई दल मिलेर बनेको कार्यदलले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राख्ने सहमति गरेको हो ।

कार्यदलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा छन् । कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा छन् र उनले कानुन मामिला जानकार सेमन्त दाहालले प्राविधिक सहयोग गरेका हुन् ।

कार्यदलले तयार पारेको मस्यौदामा चीनले अघि बढाएको बीआरआई र नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बीआरआई समझदारी पत्रमा उल्लेख गरिएको भन्दा पनि कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नु पर्ने उल्लेख गरेको छ । चीनलाई पठाइएको मस्यौदामा भनिएको छ,‘कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नु पर्ने अहिलेको लागि ‘आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार’ आदि क्षेत्रमा समिति भएर सहकार्य फ्रेमवर्कको मस्यौया तयार गरिएको छ ।’

कार्यदलले सहमतिमा मस्यौदा तयार पारेर प्रधानमन्त्री ओलीलाई शुक्रबार बेलुकी नै बुझाएको छ । अब उक्त दस्तावेजलाई चिनियाँ पक्षलाई पठाइने छ । नेपाली पक्षले तयार पारेको उक्त मस्यौदामा बेइजिङले सहमति जनाएमा प्रधानमन्त्री ओलीको सोमबारदेखि हुने चीन भ्रमणका दौरानमा मंसिर १८ मा दुई मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर