• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

विद्रोहीको कब्जामा सिरियाः राष्ट्रपति असदले छाडे देश

एजेन्सी । सशस्त्र विद्रोहलाई दबाउने नाममा १४ वर्षदेखि बर्बर दमन गर्दै आएका सिरियाका राष्ट्रपति बसर अल–असद मुलुक छाडेर रुसको मस्को पुगेका छन् । विद्रोहीले राजधानी दमास्कस नियन्त्रणमा लिएका छन् तर गृहयुद्धले थलिएको देशको भविष्य के हुने भन्ने अन्योल उस्तै छ । 

सन् २०११ को ‘अरब स्प्रिङ’ यता चलेको गृहयुद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाइसकेका छन् ।

तीमध्ये कम्तीमा ३० हजार बालबालिका छन् । करिब अढाई करोड जनसंख्या रहेको सिरियामा आधाजसो जनसंख्या कुनै न कुनै रूपमा विस्थापित छ । तर पनि सर्वसाधारणको समर्थनमा सशस्त्र विद्रोही हाबी हुँदै गएपछि राष्ट्रपति भागेका हुन् ।

सन् २०११ को विद्रोह दबाएयता राष्ट्रपति असदले विद्रोहीबाट लगातार चुनौती सामना गर्दै आएका थिए ।

उनको पक्षमा रुस र विद्रोहीको पक्षमा अमेरिकाले सिरियाली बस्तीहरूमा बम हमला गर्दै आएका थिए । तर पछिल्लो समय विद्रोही प्रभावशाली भएपछि असद संकटमा परेका हुन् । रुसी विदेश मन्त्रालयले सिरियाली विद्रोहीसँग वार्ता गरेपछि राष्ट्रपतिले देश छाडेका हुन् । यद्यपि रुसले औपचारिक रूपमा मध्यस्थतालाई अस्वीकार गरेको छ ।

इस्लामवादी हायात तहरिर अल–साम (एचटीएस) ले नेतृत्व गरेको विद्रोही समूह पछिल्लो समय नाटकीय रूपमा आक्रामक भएको हो । गत अक्टोबर २४ सम्म टर्कीसँगको सीमा क्षेत्रमा पर्ने इडलिब मात्र एचटीएसको नियन्त्रणमा थियो । विद्रोही समूहले गत मंगलबार दोस्रो ठूलो सहर अलेप्पो कब्जा गरेको थियो ।

त्यस्तै बिहीबार तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपमा स्वतन्त्र’ पारेको केही घण्टामा उनीहरू राजधानी दमास्कस प्रवेश गरेका थिए । अन्ततः शनिबार राति राजधानी दमास्कसमा झन्डा फहराएका हुन् ।

दमास्कसमाथि नियन्त्रण कायम गरेलगत्तै विद्रोही फौजले सरकारी टेलिभिजनको प्रसारण बन्द गरेको थियो । विद्रोही अगाडि बढेपछि सरकारी फौज पछाडि हटेको थियो । विभिन्न सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा सनाय जेलबाट हजारौं बन्दी मुक्त भएको देखिन्छ ।

उक्त जेलमा असद प्रशासनले आफ्ना विरोधीलाई यातना र मृत्युदण्ड दिने गरेको थियो । विश्वभर प्रभाव विस्तार गर्न खोजिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि असदको पतनले ठूलो झट्का लागेको छ । सिरियाको विद्रोह दबाउने भनेर पश्चिम एसियामा सक्रिय रुसका लागि अब यो बहाना भने बाँकी रहेन ।

उसका मुख्य सहयोगी असद नै मस्कोको शरणमा पुगेका छन् । असदलाई एक दशकभन्दा लामो समयसम्म सघाउन रुसले ठूलो शक्ति परिचालन गरेको थियो ।

पछिल्लो समय युक्रेनसँगको युद्धमा केन्द्रित भएकाले पनि रुसले असदलाई सहयोग नगरेको वा गर्न नसकेको ठानिएको छ । सिरियाली भूमिमा अमेरिका र रुसबीच भइरहेको लामो ‘प्रोक्सी वार’ मा पुटिन पराजित भएको खबरले युक्रेनलाई खुसी दिएको छ । तर रुसले सिरियामा रहेका सैनिक र सैन्य उपकरण बाहिर निकाल्यो भने तिनलाई युक्रेनमा तैनाथ गर्ने सम्भावना छ ।

सन् २०११ मा फैलिएको ‘अरब स्प्रिङ’ का बेला असदको तानाशाही शासन प्रदर्शनकारीविरुद्ध निर्मम रूपमा उत्रियो । अमेरिका, युरोपेली संघ र अरब लिगले असदलाई राजीनामा दिन सुझाव दिएका थिए । सन् २०११ मा जनविद्रोहविरुद्धको कारबाहीको प्रतिक्रियास्वरूप सिरियालाई अरब लिगबाट बर्खास्त गरियो । तर रुसको सहयोगमा प्रदर्शनकारीमाथि चरम दमन गर्दै असद सत्ता टिकाउन सफल भए । खासगरी रुस र इरान समर्थित लेबनानी सिया लडाकु समूह हिजबुल्लाहको ठूलो सैन्य समर्थनका कारण असद सत्तामा टिक्न सफल भएका थिए ।

नागरिक समाजका तर्फबाट सुरु भएको विरोध प्रदर्शनमा पछि कट्टर इस्लामवादी समूहहरू हाबी भएका थिए । सन् २०११ मार्चमा असद प्रशासनले ‘आतंककारी’ घोषणा गरेका व्यक्तिहरूमाथि रक्तपातपूर्ण कारबाही सुरु गर्‍यो, जसका कारण सिरियामा गृहयुद्ध सुरु भयो । एक दशकभन्दा लामो युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिका साथै विभिन्न जिहादी समूह पनि सामेल भए । असद देशलाई टुक्र्याउन चाहने पश्चिमी शक्तिले उनीहरूलाई उक्साएको दाबी गर्थे ।

असद विद्रोही पकड क्षेत्रमा रासायनिक अस्त्रको प्रयोग र अन्य विभिन्न अत्याचारमा पनि जोडिएका छन् । सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमण गरेको थियो । विद्रोहीविरुद्ध धेरै पटक रासायनिक हतियार प्रयोग गरेको आरोप लागे पनि असद प्रशासनले बारम्बार खण्डन गर्दै आएको छ ।

सन् २०१३ मा रासायनिक आक्रमण गरेर मानवताविरुद्धको अपराधमा संलग्न रहेको भन्दै फ्रान्सले सन् २०२३ नोभेम्बरमा असदविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जीसमेत जारी गरेको थियो । यस्तै, अन्तर्राष्ट्रिय फौजदारी अदालतले सिरिया सरकारलाई यातना तथा क्रूर र अपमानजनक व्यवहार अन्त्य गर्न आदेश दिएको थियो ।

विपक्षीको तीव्र विरोध र बहिष्कारबीच सिरियामा २०२१ मे २६ मा राष्ट्रपतीय चुनाव गरिएको थियो । चुनावमा असद ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि निर्वाचित भएका थिए । सन् २०२३ मेमा रुस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो । शनिबार राति भने असद परिवार र सिरियन बाथ पार्टीको झन्डै आधा शताब्दीभन्दा लामो शासन अन्त्य भएको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर