गगन थापा अर्थमन्त्री बन्दै, गृह एमालेलाई !
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी बनेको छ । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा निस्कनु अघि नै ओली र देउवाबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी बनेको थियो । सोही समझदारी अनुसार करिब आधा दर्जन मन्त्रि फेर्ने तयारी अघि बढेको हो ।
दुबै पार्टीका उच्च स्रोतहरुका अनुसार अर्थ र गृह मन्त्रालय साटफेर गर्ने मोटामोटी सहमति छ । अर्थमन्त्रीमा काँग्रेस महामन्त्री गगन थापालाई अघि सार्न देउवा र ओली दुबै सहमत भैसकेको स्रोतहरुको दावी छ ।
ओलीको चीन भ्रमणका क्रममा बिरआरआईमा समझदारी गराउने काममा पनि थापाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । थापाकै प्रस्ताव अनुसार बिआरआईमा ‘एड फाइनान्सिङ’ शब्द अघि सारिएको बताइन्छ ।
‘मन्त्रिमण्डल पुनर्गठनका लागि समझदारी भैसकेको छ, केहि भरोसा लाग्दा पात्रलाई जिम्मेवारीमा ल्याएर राम्रो सन्देश दिनुपर्छ भन्ने पनि देखिन्छ । अहिले गगन जीले काँग्रेस संस्थापनसँग राम्रो ट्युनिङ मिलाउनु भएको छ, ओलीसँग पनि उहाँको राम्रो हुँदै गएको छ, गगन जीलाई अर्थमन्त्री बनाउनेबारे सकारात्मक वातावरण बनेको देखिन्छ’, काँग्रेस उच्च स्रोतले भन्यो । गगन थापाले भने उप प्रधानसहित अर्थमन्त्री बनाउनुपर्ने सन्देश पठाएको स्रोतले बतायो ।
अर्थमन्त्री बिष्णु पौडेललाई हटाउन एमालेभित्रैबाट प्रधानमन्त्री ओलीमाथि तिब्र दबाव छ ।
एमाले महासचिव शंकर पोखरेल समुहले पौडेललाई प्रतिष्पर्धी ठान्ने भएकाले स्रोत साधन सम्पन्न अर्थमन्त्रालयको जिम्मेवारीमा निरन्तरता दिँदा आफ्नो राजनीतिक भविष्य नै संकटमा पर्ने जोखिम पोखरेल समुहले देखेको बताइन्छ ।
एमाले महासचिव पोखरेलले पौडेललाई अर्थमन्त्री बन्न बाटै रोक्ने प्रयास गरेका थिए तर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोडबलमा ओलीले पौडेललाई उप प्रधान तथा अर्थमन्त्री बनाएका थिए ।
काँग्रेसलाई अर्थमन्त्रालय दिएपछि गृह मन्त्रालय भने एमालेले लिनेछ । एमाले महासचिव पोखरेलले आफ्ना विश्वास पात्रलाई गृहमन्त्रीको रुपमा अघि सार्ने देखिन्छ ।
त्यसो त पछिल्लो समय प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेलबीच पनि खासै राम्रो सम्बन्ध नरहेको उनीहरु निकटस्थहरु नै बताउँछन् ।
यी बाहेक अन्य केहि मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने तयारी छ । पर्यटन मन्त्री बद्री पाण्डे, उद्योग मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी, वन मन्त्री ऐन बहादुर शाही, सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता लगायतलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी केहि समय अघि देखि नै चलिरहेको छ ।
प्रतिकृया दिनुहोस