नयाँ पार्टी खोल्दै भीम रावल ! गरे यस्ताे अपिल
काठमाडौं । सत्तारुढ नेकपा एमालेबाट निष्काशित भएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् ।
रावल निकट स्रोतका अनुसार उनले नयाँ पार्टी खोल्ने तयारी थालेका हुन् । केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने तयारी थालेको स्रोतले जानकारी दियो ।
‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो धारणा राखेर देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो । देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् । तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोंचमा उहाँ हुनुहुन्छ,’ स्रोतले भन्यो ।
पूर्व पार्टी उपाध्यक्ष समेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्य समेतबाट हटाउने निर्णय गरेको थियो ।
२०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए । त्यसपछि उनी एमालेमा सक्रिय हुने वातावरण बनेको थिएन ।
सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन् ।
‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् ।
सत्ताको उन्मादमा ओलीले निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय गरेको उनको भनाइ छ । "निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो," उनले भनेका छन् ।
पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई रावलले ओलीको निरकुंश, स्वेच्छाचारी र तानाशाही भनेका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट हटाउनुका साथै बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
प्रतिकृया दिनुहोस