लिभरपुल शीर्ष स्थानमा दुरी बढाउँदै, रियल दोस्रो स्थानमा उक्लियो
एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार चार अंकको अग्रता लिएको छ र यसका लागि टोटनहमलाई उसकै घरमा ६–३ ले पराजित गरेको छ । आर्ने स्लटको लिभरपुल चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको टोटनहमविरुद्ध आक्रामक रह्यो ।
यस प्रभावशाली जितमा लुइस डियाजले २३ औं मिनेटमा गोलको खाता खोले । उनले दुई गोल गरे । यस्तै मोहमद सलाहले पनि दुई गोल गरे । अन्य गोल एलेक्स म्याकएलिस्टर र डोमिनिक सबोसलाईको नाममा रह्यो ।
घरेलु टिमका लागि जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे । यो जितपछि लिभरपुलको १६ खेलबाट ३९ अंक भएको छ । दोस्रोमा रहेको चेल्सीले एक खेल बढी खेलेको छ र ३५ अंक छ ।
खेलपछि प्रशिक्षक स्लटले भने, ‘यो निकै सुखद नतिजा रह्यो । सम्भवतः घर बाहिर यो सिजनकै उत्कृष्ट प्रदर्शन हो । हामीले यस्तो प्रदर्शनलाई कायम राख्न सक्नु पर्छ र कुनै पनि बेला आराम महसुस गर्नु हुने छैन् ।’
आइतबारका अन्य खेलमा बर्नमाउथले म्यानचेस्टर युनाइटेड तथा उल्भ्सले लेस्टर सिटीलाई समान ३–० ले हरायो । एभरटन र चेल्सी तथा फुलहम र साउथह्याम्पटनले पनि समान गोलरहित बराबरी खेले ।
उता स्पेनिस लिगमा केयलिन एमबापे र फेडरिको भाल्भेरडेले लामो दूरीबाट दुई उत्कृष्ट गोल गरेपछि रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभियालाई ४–२ ले हराएको छ । जितपछि रियल अंक तालिकाको शीर्षमा रहेका छिमेकी एट्लेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्न पनि सफल रह्यो ।
कार्लो एन्सेलोटीको रियलका लागि रोड्रिगो र ब्राहिम डियाजले पनि गोल गरे । सेभियाका तर्फबाट इसाक रोमेरो र डोडी लुकेबाकिओले एक एक गोल फर्काए । यो नतिजापछि रियल १८ खेलबाट ४० अंकमा दोस्रो स्थानमा उक्लेको छ ।
एटलेटिको भने समान खेलबाट ४१ अंकमा शीर्षमा छ । बार्सिलोना भने १९ खेलबाट ३८ अंकमा तेस्रो स्थानमा झरेको छ । यससँगै यसपल्टको ला लिगाको उपाधि होड त्रिकोणात्मक हुने निश्चित भएको छ ।
प्रतिकृया दिनुहोस