• २०८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024

रविसँग नयाँ मुद्दामा आजदेखि बयान, बयान नसकिएसम्म नछुट्ने

पोखरा ।  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतले आज सोमबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलगायतसँग बयान थाल्ने भएको छ। 

कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले पोखराको सूर्यदर्शन सहकारी प्रकरणका रविसहितका अभियुक्तहरूसँग अदालतले आजदेखि बयान लिन थाल्ने जानकारी दिइन्। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा अभियोगपत्र दायर भएको छ। 

लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ ।

उनीविरुद्ध फरक–फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति शुद्धीकरणमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई र रामबहादुर खनाललाई सम्पत्ति शुद्धिकरण अभियोग लगाइएको छ । सहकारी ठगीमा ३१ जना नै प्रतिवादी छन् भने १९ जनाविरुद्ध सङ्गठित अपराध अभियोगसमेत लगाइएको हाे । 

निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’ का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् ।

त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्ड सजाय हुँदैन ।

यस्तै पूर्व डीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड बढी बिगो मागदाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् ।

सूचना अधिकारी शर्माले कसुर अनुसार फरकफरक मागदाबी लिइएको जानकारी दिए । “सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरणसहित राष्ट्र बैक ऐनविरुद्धको कसूरमा समेत अभियोगपत्र दायर गरिएको छ,” शर्माले भने, “शुक्रबार थप अभियोगपत्र दर्ता गरेका थियौँ, आज पूरक अभियोगपत्र दर्ता गरेका हौँ ।” 

अभियोगपत्रमा विधाराधीन मुद्दामा थप मागदावी, थप कसूरहरु प्रष्ट उल्लेख गरिएको र सबैगरी ६३ जना प्रतिवादी कायम भएको उनको भनाइ छ ।

अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर