• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

परराष्ट्रमन्त्रीको किन भएन भारतमा राजनीतिक भेटघाट ?

काठमाडौं । ठ्याक्कै चार महिनाअघि भारत भ्रमणमा जाँदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले नयाँ दिल्लीमा न्यायो आतिथ्य पाएकी थिइन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहितका वरिष्ठ अधिकारीहरुसँग उनको भेटले नेपालमा निकै चर्चा पायो ।

युरोपियन मुलुक हुँदै गत बिहीबार नयाँ दिल्ली उत्रिएकी परराष्ट्रमन्त्री आरजुको भ्रमणले यसपटक पनि चर्चा त पाइरहेको छ, तर पहिलेभन्दा ठिक विपरीत रुपमा । यसपटक उनको नयाँ दिल्लीमा राजनीतिक भेटघाट किन भएन भन्ने चासोसहित प्रश्न उठिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली २० मंसिरमा चीन भ्रमण गरेर फर्किएबाटै उनको भारत भ्रमणका लागि पहल भइरहेको थियो । तर, हालसम्म भारतीय पक्षबाट निम्तो आएको छैन । यस्तोमा परराष्ट्रमन्त्री आरजुको दिल्ली यात्रालाई ओलीको सम्भावित भारत भ्रमणसँग जोडेर हेरिएको थियो ।

अझ दिल्लीस्थित नेपाली दूतावासमा सत्तारुढ नेकपा एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत रहेको तस्वीर सार्वजनिक भएपछि भ्रमणबारे थप जिज्ञासाहरु सिर्जित भए ।

आरजु स्वयंले भने आफ्नो दिल्ली भ्रमण कुनै औपचारिक विषयभन्दा अरु नै प्रसंगमा केन्द्रित भएको टिप्पणी गरेकी छन् । सोमबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले भनिन्, ‘यो पटकको भ्रमण त्योभन्दा अरु नै विषयमा केन्द्रित थियो, त्यसैले छलफलका लागि समय लिएनौं, छलफल राख्दा पनि राखेनौं ।’

उनले औपचारिक प्रतिक्रिया दिँदा २० डिसेम्बरमा भारतमा काठमाडौं विश्वविद्यालय अन्तरगतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन अफ इकोनोमिक ग्रोथ एण्ड वेलफेयर (इग्रो) ले आयोजना गरेको नेपाल–भारत आर्थिक सम्मेलनमा सहभागी हुन दिल्ली गएको बताइन् ।

‘मैले त्यो कार्यक्रममा सहभागी हुन्छु भनेर पहिल्यै प्रतिबद्धता जनाएकी थिएँ, त्यसैले फर्किंदा दिल्ली गएकी हुँ’, उनले भनिन्, ‘सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुँदा मैले साझा समृद्धि र विकासका लागि नेपाल र भारतबीच बृहत साझेदारी हुनुपर्नेमा जोड दिएकी थिएँ ।’ कतिपय विषयहरु कूटनीति तहमा सिधै राख्न नसकिने हुँदा यस्ता छलफलहरुले ‘ट्रयाक टु डिप्लोमेसी’मा ठूलो अर्थ राख्ने उनले बताइन् ।

परराष्ट्रमन्त्री देउवाले आर्थिक सम्मेलनका लागि दिल्ली गएको बताए पनि उनको सचिवालयले भने नियमित स्वास्थ्य जाँचका उनी त्यहाँ गएको बताएको थियो ।

नयाँ दिल्लीको म्याक्स हस्पिटलमा १४ चैत २०७४ मा आरजुको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको थियो । त्यसैले दिल्ली आउँदा आरजुले स्वास्थ्य जाँच गराउने गरेको उनी निकट स्रोतले जनाएको थियो ।

शनिबार स्वास्थ्य जाँच हुँदा आइतबारसम्म रिपोर्टका लागि कुर्न उनी दिल्ली बस्ने नेपाली दूतावासका अधिकारीहरुले समेत बताएका थिए । तर, परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, त्यो अवधिमा उनी राजनीतिक भेटघाटको वातावरण मिलाउने कोसिसमा थिइन् ।

पहिले त नेपाल–भारत आर्थिक सम्मेलनमै उपस्थित हुन भारतका विदेश मन्त्री एस जयशंकरलाई निम्तो पठाइएको थियो । तर, दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार, विदेश मन्त्रालयबाट जयशंकरको उपस्थितिबारे यकिन जानकारी आएको थिएन ।

‘कूटनीतिक च्यानलबाट कुरा हुँदा अन्डर कन्सिडरेसन (विचारमै) मात्र भनिएको थियो’, स्रोतले भन्यो, ‘त्यही बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खाडी मुलुकको भ्रमण गर्न लागेकाले पनि समय मिलाउन गाह्रो भएको थियो ।’

भारतका लागि नेपालका एक पूर्वराजदूतको भनाइमा, परराष्ट्रमन्त्री आरजुको यसपटकको भारत भ्रमण पर्याप्त तयारीविनै भएको जस्तो देखिन्छ ।
जयशंकर नआए पनि आरजुको उपस्थितिमा आर्थिक सम्मेलन भयो । त्यसमा उनले भारतीय पक्षसँग लुम्बिनीको गौतम बुद्ध र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भारतको साथ खोजिन् ।

‘हामीले यी विमानस्थलहरु उच्च लागतमा निर्माण गरेका छौं र तिनीहरुलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन हाम्रा नजिकका मित्र तथा छिमेकीको सहयोग चाहन्छौं’, उनले भनिन्, ‘हामी भारतको निजी हवाई सेवा सञ्चालकबाट यी दुई विमानस्थलमा सेवा सुरु गर्नका लागि सहयोग खोज्दैछौं ।’

यसले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध मात्र नभई, दुई देशको जनस्तरमा रहेको सम्बन्धलाई पनि मजबुत बनाउने उनले बताइन् ।

कार्यक्रममा भारतका नीति आयोगका अधिकारीहरु, आर्थिक क्षेत्रका विज्ञसहितका अधिकारीहरु उपस्थित थिए । यो कार्यक्रममा पनि आरजुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे जिज्ञासाको सामना गर्नुपरेको थियो ।

उनलाई भारतका सञ्चारकर्मीहरुले सोधेका थिए, ‘नेपालका प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुन्छ ? के कुराकानी भइरहेको छ ?’ जवाफमा उनले, ‘त्यसका लागि पहिले दिल्लीले निम्तो गर्नुपर्ने’ प्रतिक्रिया दिइन् ।

दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुका अनुसार, अन्तिम समयसम्म पनि परराष्ट्रमन्त्री राणाको राजनीतिक भेटघाटका लागि पहल भइरहेको थियो ।

तर, विदेशमन्त्री जयशंकर प्रधानमन्त्री मोदीको ४३ वर्षपछि हुन लागेको कुवेत लगायतका खाडी राष्ट्रको भ्रमणको तयारीमा व्यस्त रहे । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि चीन भ्रमणमा थिए । यस्तोमा भेटको सम्भावना पनि निकै न्यून थियो ।

भारतका लागि नेपालका एक पूर्वराजदूतको भनाइमा, परराष्ट्रमन्त्री आरजुको यसपटकको भारत भ्रमण पर्याप्त तयारीविनै भएको जस्तो देखिन्छ ।

‘प्रोटोकल अनुसार पनि त्यो तहको भेटका लागि पहिल्यैबाट जानकारी गराएर पहल गर्नुपर्ने हुन्छ’, उनले भने, ‘तर, यसपटक उहाँको भ्रमणमा त्यस्तो पूर्वतयारी थिएन, त्यस्तोमा भेट नहुने खबर पाएपछि शुक्रबार कार्यक्रम सकिनेवित्तिकै फर्किनु भएको भए राम्रो सन्देश जान्थ्यो ।’

देउवाले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भए पनि भेटेर फर्किन खोजेकी थिइन् । यद्यपि, स्वदेश फर्किने दिन सोमबार उनी भारतको थिंक ट्यांक इण्डिया फाउन्डेसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै आरजु नेदरल्याण्ड्सको हेग गएकी थिइन् । त्यहाँ उनी जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरुको दायित्वबारे ९० देशको कार्यक्रममा सहभागी भएकी थिइन् ।

युरोप भ्रमणमा के भयो ?

हेगको कार्यक्रमपछि परराष्ट्रमन्त्री राणा लक्जेम्बर्ग गएकी थिइन् । १० डिसेम्बरमा उनले त्यहाँका उपप्रधान एवं विदेश मामिला तथा वैदेशिक व्यापार मन्त्री जेवियर ब्याटलसँग भेट गरिन् । ब्याटलले सन् २०१३ देखि २०२३ सम्म प्रधानमन्त्रीका रुपमा पनि काम गरिसकेका छन् ।

‘उहाँले मलाई शहर पनि घुमाउनुभयो, एकदमै राम्रो भेट भयो’, आरजुले भनेकी छन्, ‘उहाँ नेपालप्रति एकदमै सकारात्मक हुनुहुँदो रहेछ । उहाँले लक्जेम्बर्गबाट धेरै आईएनजीओले नेपालमा काम गरिरहेको पनि सुनाउनुभयो ।’

उनीसँगको भेटमा दुईपक्षीय मामिलाबारे कुराकानी भएको परराष्ट्रमन्त्री राणाले बताएकी छन् । उनलाई नेपाल भ्रमणका लागि निमन्त्रणा र औपचारिक सहयोगका लागि समेत चाँडै पत्राचार गरिने उनले जानकारी दिएकी छन् ।

१२ डिसेम्बरमा उनले युरोपियन युनियनका कमिस्नर फर क्लाइमेट एक्सचेन्ज आपके होस्त्रा, अन्तर्राष्ट्रिय साझेदारीका आयुक्त जेसेफ सिकेला, युरोपेली नागरिक संरक्षण र मानवीय सहायकता सञ्चालका महानिर्देशक मासिज पपोक्स्कीसँग भेट गरिन् । त्यसक्रममा नेपालमा जलवायु परिवर्तनले गरेका असरका विषयमा कुराकानी भएको बताइएको छ ।

‘स्वच्छ ऊर्जाको विकास सवालमा नेपालले लिएको अग्रसताबारे जानकारी दिएकी छु, नेपाली एयरलाइन्समाथि लागेको प्रतिबन्ध हटाउन अनुरोध गरेकी छु’, उनले भनिन्, ‘चाँडै नयाँ कानून ल्याएर सञ्चालक र नियामकको काम अलग–अलग बनाउने प्रयास गरिरहेको पनि बताएकी छु ।’

उनको १३ डिसेम्बरमा बेल्जियन विदेशी मन्त्री बर्नाड क्वीन्टलसँग ब्रसेल्समा भेट भएको थियो । सो भेटमा समसामयिक र राजनीतिक विषयमा छलफल भएको थियो ।

‘युरोपियन काउन्सिलरहरुसँग कुरा हुँदा उहाँहरुले एमसीसी जस्तो ग्लोबल गेटवे खडा गरेको बताउनुभयो, त्यो अन्तरगत विभिन्न मुलुकमा अनुदान दिने, लगानी र ऋण दिने गरेको बताउनुभयो’, उनले थपिन्, ‘त्यो विषयसँगै भूराजनीतिक विषय, युक्रेन–रसिया युद्ध र मिडल इस्टबारे कुरा भएको थियो ।’

१६ डिसेम्बरमा जर्मनको रिसर्च सेन्टर फर जिओसाइन्सेसमा भ्रमण गरेको उनले बताइन् । त्यसक्रममा जीएफएसको प्रमुख डा. निम्स मुभियन र परियोजना तथा अन्तर्राष्ट्रिय मामिला प्रमुख लर्डभिक्ससँग कुराकानी भएको थियो ।

‘उहाँहरुले विभिन्न ठाउँमा हिउँ र पानीबारे जाँच गर्ने काम गरिरहनु रहेको रहेछ, विपद्बारे अर्ली वार्निङ सिस्टममा काम गरिरहेको थाहा भयो’, राणाले भनिन्, ‘मैले आफ्नो स्ट्याटलाइटमार्फत नेपालले पनि डेटाहरु हेर्न मिल्ने बताइदिनु होला भनेर कुरा गरेकी छु ।’

युरोपियन युनियनसँग समेत डेटा आदानप्रदानबारे कुरा भएको उनले बताएकी छन् । ‘युरोपियन युनियनसँग कुरा गरेर हाइड्रोलोजी सम्बन्धी डेटाहरु लिन सक्ने रहेछौं र कुनै ठूलो वेदर प्रणाली आउँदैछ भने जानकारी पाउन सक्ने रहेछौं’, उनले भनिन्, ‘यसमा मैले मौखिक प्रस्ताव राखेकी छु, बाँकी औपचारिक कुरा मन्त्रालयबाट गर्नेछौं ।’

१७ डिसेम्बर २०२४ मा ‘इक्वेल राइट कोलिसन’ले बर्लिनमा आयोजना गरेको समानता सम्बन्धी सम्मेलनमा उनले सहभागिता जनाएकी थिइन् । त्यसमा एक सत्रमा बोल्दै उनले नेपालका विशेषगरी लैगिंक अल्पसंख्यक व्यक्तिहरुको समावेशीकरण र मानव अधिकारबारे विचार राखेकी थिइन् ।

‘त्यसक्रममा उहाँहरुले नेपाललाई राम्रो रिकग्निसन गर्नुभएको पाएँ’, देउवाले थपिन्, ‘हामी एसियाको तेस्रो र विश्वमै १० औं मुलुक रहेछौं, जसले लैंगिक अल्पसंख्यकलाई पासपोर्ट र निर्वाचन आयोगमा पहिचान खुलाउन पाउने व्यवस्था गरेको छ, समलिंगी विवाह पनि स्वीकारेको छ ।’

त्यसैले आफ्नो भ्रमण एकदमै फलदायी भएको उनले जिकिर गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर