• २०८१ पौष १४ आइतबार
  • Sunday, 29 December, 2024

माओवादीलाई पहिलो पार्टी बनाए भ्रष्टाचारीहरुलाई देशबाट लखेट्छौं: प्रचण्ड

कञ्चनपुर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी बलियो भए देशमा सुशासनको नयाँ युग शुरू हुने बताएका छन् । 

कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै प्रचण्डले भने, ‘माओवादी पार्टी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । 

'भ्रष्टाचारीलाई यसै छोडिने छैन । गिरिबन्धु, यति ओम्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग शुरू हुनेछ । भ्रष्टाचारीहरूलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौं । अहिले मैले अब धेरै भन्नु छैन ।’

आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै उनले मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरू पनि आफ्नो सरकारको भयभीत भए आतंकित भएको बताए । ‘तर वर्तमान सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ । भ्रष्टाचारका विरुद्ध छैन,’ उनले भने

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर