अखिल क्रान्तिकारीः ३२ वर्षे उमेरहद लगाउने पक्षमा देखियाे रूझान, मतगणना स्थगित
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणनामा विवाद भएको छ । विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको छ ।
परिणाम सार्वजनिक भएका जिल्लाहरूमा ३२ वर्षे उमेरहद लगाउने विषयमा मतदालताकाे रूझान देखिएकाे छ ।
उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । तर बैतडी, दाङ र गुल्मी जिल्लाको निर्वाचनका विषयमा विवाद भएपछि रातिदेखि नै मतगणना स्थगित छ ।
प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले भूगोल र गैह्रभूगोलका जिल्लाहरुका मतदान केन्द्रहरुबाट निर्वाचन सम्बन्धी कागजपत्रहरु प्राप्त हुन बाँकी भएकाले मतगणना स्थगित गरिएको जिकिर गरेका छन् । ती कागजपत्रहरु प्राप्त भएपछि मात्रै मतगणनाले पूर्णता पाउने र परिणाम सार्वजनिक गरिने प्रधानको भनाइ छ ।
अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब एक हजार ८०० जनाले शनिबार पहिलोचरणको मतदानमा भाग लिएका थिए ।
गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनमा३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो ।
त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो ।
त्यसैले ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला प्रतिस्पर्धाको आधारमा नेतृत्व चुन्ने भनेर शनिबार पहिलो चरणको निर्वाचन गरिएको थियो ।
पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रीय सदस्य चुन्न यही पुस १७ गते दोस्रो चरणको निर्वाचन गर्ने कार्यतालिका छ
निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते केन्द्रीय पदाधिकारी र सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । पुस १६ गते उम्मेदवारी उपर दावी विरोध, पुस १६गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता र १६ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
पुस १७ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । भौगोलिक र गैरभौगोलिक गरी ९ प्रदेशस्तरमा मतदान हुने छ ।
प्रतिकृया दिनुहोस