आईसीयूमा मोहन वैद्य भेट्न पुगे प्रचण्ड
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयुमा उपचार भइरहेको छ । अध्यक्ष प्रचण्डले आइतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए । सो क्रममा महासचिव किरणले क्याबिनको भन्दा आईसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए ।
'क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव कमरेड मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेँ। उहाँले आइसीयूमा उपचार सुरु भएपछि सहज महसुस भएको बताउनुभयो। उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ। चिकित्सकहरुले उहाँको छातिमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताउनुभएको छ। उहाँका परिवारका सदस्यहरूसँग भेट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेँ। साथै, उहाँको उपचारमा कुनै कमी नहोस् भनेर सम्बन्धित सबैलाई ध्यान दिन आग्रह गरेको छु। पुनः उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,' प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरे ।
पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरूले एकले अर्कालाई निकै आदरभाव प्रकट गर्दै आएका छन् । बैद्यलाइ प्रचण्ड सधै गुरू मान्ने र परेकाे सहयाेग गर्ने गर्दछन् ।
प्रतिकृया दिनुहोस