• २०८१ पौष २० शनिबार
  • Saturday, 4 January, 2025

सँच्चिएर अघि बढे आगामी चुनावमा माओवादी पहिलो पार्टी बन्छ– वर्षमान पुन

प्यूठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने बताएका छन् । 

माओवादी केन्द्र स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले माओवादीले पनि विगतमा गल्ती गरेको स्वीकार गरे । माओवादी पार्टी पनि टुटफुट र विभाजनको सिकार हुन पुगेको र सत्तामा पुग्दा जनताका कतिपय एजेण्टा छुट्न पुगेकाले माओवादीले त्यसबाट पाठ सिकेर अघि बढ्न तयार हुनुपर्ने उनले बताए । 

आफैंलाई सुधारेर अघि बढ्न तयार भएमा आगामी २०८४ को चुनावबाट माओवादी केन्द्र पहिलो दल बन्ने सक्ने उनले दावी गरे ।

उपनिर्वाचनमा जनमतको हिसावले माओवादी दोस्रो र प्रमुख, उपप्रमुख विजयी भएको हिसावले पहिलो दल भएको दावी गरेका उनले आगामी चुनावमा माओवादी एक्लै लड्ने बताए । जनताले माओवादी एक्लै एजेण्डमा टेकेर उभियोस भन्ने चाहेको उनले चर्चा गरेका छन् । 

लोकतन्त्रको विकल्प अझ परिस्कृत लोकतन्त्र हुने उल्लेख गरेका उपमहासचिव पुनले जनताले उठाएका प्रश्नहरुको जवाफ दिने र कमजोरी सच्याएर परिमार्जन गर्दै आफूलाई पुष्टि गर्नुपर्ने बताए ।

नयाँ भनिएका दलहरु पनि विकल्पका रुपमा आउन नसकेको टिप्पणी गर्दै नेता पुनले सिद्धान्त, विचार, संस्कृति र इतिहास नभएकाहरु नयाँ दल र वैकल्पिक शक्ति हुन नसक्ने बताए । 

‘माओवादीले आफूलाई पनि सच्याउनु पर्छ, जनताको विश्वास पूरा गर्नुपर्छ, जनताले विश्वास गरेका पनि छन् । माओवादीले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ । विगतमा संविधान र शान्ति प्रकृयाका काम गर्नका लागि कांग्रेस–एमालेसँग मिल्नुपर्ने हाम्रो बाध्यता थियो । तर अहिले उनीहरुलाई यो परिवर्तन मन परेको छैन । उनीहरु पछि फर्कन खोजेका छन् । हामी त्यो मान्न तयार नभएकै कारण अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको हो ।’

केही विचौलियाहरुको काम गर्न छोडेर जनताको काम गर्न भनेरै सरकार छोडेको बताएका उनले कांग्रेस एमालेको स्वार्थ मिलेकाले एक ठाउँमा आएको बताए ।

‘जनतामा अहिले कांग्रेस–एमालेप्रति विश्वास छैन । नयाँप्रति पनि विश्वास छैन । हामीले समाजवादी गणतन्त्रमा जाने विकल्पसहित लोकतन्त्रलाई सर्भिसिङ र सुद्धिकरण गरेर जनताको बाटोमा अघि बढ्न तयार हुनुपर्छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर