ओलीले ग्रिनसिग्नल नदिएपछि नेकपा एस जान ठिक्क परेका बामदेवले भेटे अध्यक्ष नेपाल
काठमाडौं । कुनैबेला एमालेमा प्रवेश गर्न हतारिएका एमालेकै पुराना नेता बामदेव गौतम अहिले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न ठिक्क परेका छन् । उनले आज एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे ।
एमालेका पूर्व उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमबीच पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता बाक्लिएको छ ।
अध्यक्ष नेपाल र नेता गौतमबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा भेटवार्ता भएको हो । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सहमति गरेका गौतम आज निर्णायक छलफलका लागि पार्टी कार्यालयमै पुगेका हुन् ।
हिजो पनि एकीकृत समाजवादीका तर्फबाट आइतबार स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा, पोलिट्व्युरो सदस्य ताज मोहम्मद मियाँसहितको टोली गौतम निवास भैंसेपाटीमा पुगेर छलफल गरेको थियो ।
एकताको लागि दुवै तर्फबाट कार्यदल नै बनाएर काम अघि बढेको छ । गौतमलाई नेकपा एसले वरिष्ठ नेता बनाउने तयारी गरेको छ । यसअघि अध्यक्ष नेपाल पनि गौतम निवास भैंसेपाटीमा पुगेर छलफल गरेका थिए ।
कुनै बेला गाैतमले एमाले प्रवेश गराउने मेसाे मिलाउन नेताहरूलाइ सन्देश पठाएका थिए । तर अध्यक्ष केपी ओलीले चासाे नदिएपछि उनी एस प्रवेश गर्न लागेका हुन् ।
‘पुराना संस्मरणहरू पुनजीर्वित गरियो। नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ भन्ने पनि कुरा भयो भनेर आजलाई स्थगित गरियो,’ गौतमले भने।
उनले एकीकृत समाजवादीमा जाने सम्भावना रहेको बताए।
एकीकृत समाजवादी र नेता गौतम नेतृत्वको अभियानबीच एकता गर्ने छलफल चलिरहेको छ। नेकपा विघटनपछि नेता गौतमले पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेको छ। अध्यक्ष नेपाल र नेता गौतमबीच यसअघि पनि पार्टी एकता गर्नेबारे छलफल भएको थियो।
प्रतिकृया दिनुहोस