• २०८१ पौष २१ आइतबार
  • Sunday, 5 January, 2025

तय भयो माओवादी केन्द्रीय समिति बैठकका एजेण्डा, के के हुन् ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आज (बिहीबार) बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनसहितका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको हो ।

त्यस्तै अध्यक्षलगायत प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरिने, अगामी कार्ययोजनाका एजेण्डा समेत तय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । 

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा प्रस्ताव गर्दै बोलेका प्रचण्डले केन्द्रीय समितिको धारणा नै पार्टीको धारणा हुने बताए।

आफूले राजनीतिक प्रतिवेदन लेखिरहेको भन्दै प्रचण्डले त्यसमा केन्द्रीय समिति बैठकमा सबैको भावना समेट्ने पनि भनाइ राखेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।

राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी कार्यक्रम र कार्ययोजना रहेको छ। ‘राजनीतिक प्रतिवेदन तयार हुँदै छ, भोलि-पर्सि पूरा होला,’ ती पदाधिकारीले भने।

बैठकमा प्रचण्डको भनाइ थियो, ‘केन्द्रीय समितिको परामर्श बैठकमा साथीहरूले लिखित-मौखिक रूपमा दिएका सबै कुराहरूलाई समेटेर प्रतिवेदन तयार हुन्छ। त्यहीअनुसार प्रतिवेदन आउँछ। कसरी जाने, साथीहरूको सुझाव चाहियो।’

प्रचण्डले स्थायी समितिमा प्राप्त सुझाव र भएका निर्णय पनि अन्तिम नहुने पनि बैठकमा स्पष्ट पारेका थिए। 

‘मैले मोटामोटी आज राखेका विषयहरूमा कमरेडहरूलाई केही लागेको छ भने भोलि राख्नुहोला,’ प्रचण्डलाई उद्द्धृत गर्दै ती पदाधिकारीले भने, ‘अहिले यहाँ स्थायी समितिले निर्णय गरेर जाने कुरा हुँदैन। किनभने, तत्कालै केन्द्रीय समितिको बैठक छ। केन्द्रीय समिति सर्वेसर्वा हो। हामीले धारणा बनाएर जाने, अथवा स्थायी समितिमा एक मत भनेर त्यसरी जानुहुँदैन। त्यो बेठिक हुन्छ। त्यो लोकतान्त्रिक हुँदैन। हामी त्यहाँ पनि स्वतन्त्र हुन्छौँ। स्वतन्त्रतापूर्वक आफ्ना विचार राख्ने हो, छलफल गर्ने हो।’

केन्द्रीय समितिको धारणा नै पार्टीको धारणा हुने प्रचण्डको भनाइ थियो। 

‘अहिले हामीले केही सोच्दाखेरि यही धारणा बनाउने, अध्यक्षले यही भन्नुभयो, यही धारणा हो, भन्नेकुरा हुँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘केन्द्रीय समितिको धारणा नै हामी सबैको साझा धारणा हो। त्यसरी हामीले लोकतन्त्रलाई व्यवस्थित गर्न सक्छौँ।’

अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा प्रचण्डको जोड रहेको प्रवक्ता सापकोटाले बताए ।

संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको उनको भनाइ छ । 

यद्यपि, संविधान संशोधनभन्दा पनि संविधानको वास्तविक मर्म र भावनाअनुसार यसको कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिएको उल्लेख गर्दै सापकोटाले भने, ‘हाम्रो पार्टीलाई के लागेको छ भने, संविधान जसरी इमानदारीपूर्वक कार्यान्वयन गरिनुपथ्र्यो, त्योअनुसार अभ्यास भएको छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर