कांग्रेससँगकाे सत्ता सहकार्यमा महत्वपूर्ण काम भएकाे ओलीको दावी
काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा तयार गरिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका लागि तयार गरिएको प्रतिवेदन पेश गरिने जानकारी दिएका छन् । बैठकमा प्रतिवेदनका मुख्य बुँदाहरूमा छलफल भएको पनि उनले बताए।
ज्ञवालीका अनुसार प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको गहन समीक्षा गरिएको छ । एमाले र कांग्रेसबीचको सत्ता साझेदारीको औचित्य, यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरूको चर्चा गरिएको छ ।
सरकार गठनयता ६ महिनाको समीक्षा गर्दै प्रतिवेदनले उपलब्धिहरूको उल्लेख गरेको छ । तर, उनले सरकारले अझ धेरै काम गर्न बाँकी रहेको र नागरिक सेवा प्रवाह, विकास निर्माण, र अर्थतन्त्रलाई पुनः लयमा ल्याउन ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए ।
ज्ञवालीले भने, ‘सरकारले ६ महिनामा केही महत्वपूर्ण काम गरेको छ । तर, अझै धेरै चुनौतीहरू छन् । बाँकी कामहरू छिट्टै सम्पन्न गर्न, डेलिभरी सुधार गर्न, र अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले अझ बढी प्रयास गर्नुपर्छ ।’
प्रतिवेदनमा पछिल्लो समयमा बढ्दै गएको अराजकता, मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रवृत्ति, र अन्तर्राष्ट्रिय परिस्थितिका चुनौतीहरूको विश्लेषण गरिएको पनि उनले जनाए ।
सचिवालय बैठकले नेता भीम रावलमाथि पार्टीले गरेको कारबाहीलाई सही ठहर गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । पुस २१ र २२ गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको गहन छलफल गरिने एमालेले जनाएको छ ।
प्रतिकृया दिनुहोस