प्रचण्डको विश्लेषणः पूर्वी नेपालले माओवादी पहिलो पार्टी बन्ने संकेत गरिसक्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको दाबी गरेका छन्।
उदयपुर जिल्लाका नेता-कार्यकर्ताहरूसँग आज पार्टी कार्यालय, पेरिसडाँडामा भएको भेटमा उनले यस्तो धारणा राखेका हुन्।
‘यसपटकको उनिर्वाचनमा प्रदेश नम्बर १ (कोसी) मा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ,’ उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ।’
उदयपुरमा यसअघि हारेका दुईवटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको भन्दै अध्यक्ष प्रचण्डले यसका लागि उदयपुरको पार्टी नेतृत्वलाई बधाई दिए।
‘यो उपनिर्वाचनबाट हामी देशैभरि पनि तेस्रोबाट दोस्रोमा उक्लेका छौँ, अब हाम्रो विजययात्रालाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘आजबाट निकै उत्साहपूर्ण रूपमा स्थायी समिति बैठक सुरु भएको छ। अब हामी स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट पार्टीलाई जनतासँग जोड्ने स्पष्ट कार्ययोजनासहित नयाँ उचाइमा उठाउनेछौँ।’
आफूले गत भदौमा मोरङ, सुनसरी र झापाको भ्रमण गर्दा, उदयपुरको बेलकामा आयोजित पार्टीको परामर्श बैठक मात्र होइन, भर्खरै रुपन्देही, कञ्चनपुर र झापामा भएको उल्लासपूर्ण पार्टी प्रवेशले देशव्यापीरुपमा जनलहर बढ्दै गएको पुष्टि गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यो जनलहर २०८४ को जीतको लहर हो, सबैले एकताबद्ध भएर मेहनत गरौं फेरि पनि पार्टीलाई एक्लै लडेर पहिलो शक्ति बनाउन सकिने छ।’
सो क्रममा एकीकृत समाजवादी युवा संघ उदयपुरका अध्यक्ष खिलराज राई र तामाङ भाषाको चलचित्रका स्थापित कलाकार ऋतुराम पोख्रिन माओवादी केन्द्रमा प्रवेश गरे ।
त्यस्तै लामो समय माओवादी आन्दोलनमा रहेर केही समयअघि एमालेमा प्रवेश गर्नुभएका स्थापित नेता गञ्जु शेर्पाको दम्पत्ति पनि पुनः माओवादी केन्द्रमा समायोजन भएको छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले त्रियुगा १२ नवनिर्वाचित वडा अध्यक्ष नवीनकुमार वान्तवा राईलाई सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस