प्रचण्डको गुनासो: प्रधानमन्त्री हुँदा भयानक असहयोग भयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको स्मरण गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्र्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताएका थिए ।
त्यसलाई थप प्रष्ट पार्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’
उनले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको जिकिर गरे ।
उनले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गरे ।
‘मैले रातारात अबरपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने । अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूकाबीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने । नियक्ति नभए दबाब दिने जुन प्रक्रिया मैले झेलेको छु,’ प्रचण्डले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको बीचमा संवाद रोकिएको छ ।’
प्रतिकृया दिनुहोस