• २०८१ पौष २४ बुधबार
  • Wednesday, 8 January, 2025

बलात्कार अभियुक्त बिर्तामोडका पूर्वमेयर पुर्पक्षका लागि थुनामा

बलात्कार अभियोगमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ। 

सोमबार न्यायाधीश नविनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको स्रेस्तेदार किरणुकमार सिंहले जानकारी दिए। 

उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि थुना पठाइएको हो। यस्तै, शिवाकोटीको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै अदालतले कारागारलाई उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ। शिवकोटी यतिन्जलेल अस्पतालमै थिए। सोमबार भने कारागार चलान भएका हुन्। 

मंसिर २४ मा शिवाकोटी पक्राउ परेका थिए। १७ वर्षीया घरेलु कामदार बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका थिए। 
कलेज पोसाकमै पीडित बालिका काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकी जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकी सोधपुछ गरेका थिए। त्यतिबेला उनीहरूले घटनाबारे थाहा पाएपछि प्रहरीको सहयोगमा उनलाई उद्धार गरेका थिए।

उद्धारपछि बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन्।

भारतमा आमा बस्ने गरेको र उनको बुबा नभएको हुँदा बालिकालाई शिवाकोटीले पढाइ दिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए।

तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर