प्रधानमन्त्री ओलीले नै भनेः ‘संविधान संशोधन अहिले सम्भव छैन’
काठमाडौं । संविधान संशोधनको मूल एजेण्डा बोकेर संसदकै दुई ठूला दल कांग्रेस र एमाले मिलेपनि अहिले प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन सम्भव नभएको बताएका छन् ।
आज सम्पन्न केन्द्रीय समिति बैठकका क्रममा उनले सो कुरा बताएका हुन् ।
कतिपय राजनीतिक ज्ञाताहरुले राष्ट्रिय सभाको अवको चुनावपछि माओवादी राष्ट्रिय सभामा कमजोर हुने र त्यसपछि मात्रै सरकारले संशोधन प्रस्ताव अघि सार्ने टिप्पणी गरिरहेका छन् । राष्ट्रिय सभामा अहिले माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ ।
कांग्रेस र एमाले मिलेर चुनाव लडेमा नयाँ निर्वाचित हुने सदस्यहरु तीनै पार्टीका हुने र राष्ट्रिय सभामा पनि कांग्रेस एमालेको बहुमत हुने अनुमान गरिएको छ ।
‘संविधान संशोधनका लागि राष्ट्रिय सहमति पनि चाहिन्छ, संसदमा संख्या पनि पुग्नुपर्छ’,ओलीको भनाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अहिले त्यो दुवै अवस्था छैन ।’
तर ओलीले संविधान संशोधनको तयारी भने गर्दै अघि बढ्ने बताएका थिए । ‘सबै तयारी पुरा भएपछि संविधान संशोधन नगर्ने भन्ने कुरा हुँदैन । पहिला तयारी गर्नुपर्छ’, ओलीको भनाइ छ ।
यसैबीच एमालेको केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु कायम नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गरेका छन्।
‘एमालेमा अब कुनै पनि पूर्वसमूहरु छैन,’ ओलीको भनाइ छ, ‘हामीले पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ। भरभराउँदो आजको एमाले खोजौँ। हामी यथास्थितिवादी होइनौँ। क्रान्तिकारी हौँ। हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो। हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ।’
ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरु लागेको आरोप लगाउँदै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट पारे।
उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरु सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरु चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गरे।
अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गरे। प्रधानमन्त्री ओलीले असम्लग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताए।
प्रतिकृया दिनुहोस