• २०८१ पौष २५ बिहीबार
  • Thursday, 9 January, 2025

माओवादी सिध्याउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिँदै छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीको विषय टुङ्गोमा पुर्‍याउन सदन, सरकार र सडकबाट दबाब दिनुपर्ने बताएका छन् । 

बुधवार नेपाल वार एसोसिएसनमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  

अध्यक्ष प्रचण्डले प्रेसर बढाए मात्र यो विषय टुङ्गोमा पुर्‍याउन सकिने बताए । 

उनले भने, ‘‘एकताबद्ध भएर पीडितले सडकबाट दबाब नदिए  टी आरसी अर्को १८ वर्ष जान पनि बेर छैन। राजनीतिक दबाब दिन जरुरी छ । प्रेसर भएका यो टुङ्गोमा पुग्न सक्छ। म दबाब बढाउने ढङ्गले सोच्दै छु। सदन सरकार  र सडकबाट दबाब दिने तयारीमा छु।’

आफ्नै प्रस्तावमा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न समिति बनेको भए पनि राजनीतिक कारणले त्यसलाई काम गर्न नदिएको दाबी गरे। ‘त्यो सिफारिस समिति फेरि मेरै प्रस्तावमा बनेको समिति हो,’ प्रचण्डले भने, ‘तर, त्यहाँ धेरै चिजहरु भए। मैले अहिले ती सबै पोका फुकाउन आवश्यक पनि छैन।’
 
अहिले पनि संक्रमणकालीन न्याय(टीआरसी)को बिषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको बताए। ‘विषय यो कानुनी भन्दा पनि बढी राजनीतिक नै छ,’ प्रचण्डले भने, ‘१२ बुँदे समझारी र विस्तृत शान्ति सम्झौता आफैमा राजनीतिक दस्तावेज हुन्। र, ती सम्झौताहरु सबै संविधानको अगंको रुपमा मानिएको छ। ती संविधान पनि हुन्। तर, कुरा अहिले टुंग्याउन कठिन भएको राजनीतिक नै हो,' उनले थपे, ‘राजनीतिक कारणले नै हो। त्यहाँ कन्फ्युजन हुनेपर्ने कारण केही छैन।’

पहिले माओवादी सिध्याएपछि मात्रै यो विषय टुंग्याउने भन्ने प्रवृत्तिले नै यसलाई रोकेको प्रचण्डले ठोकुवा गरे। ‘माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौंला भन्ने सोच र प्रवृत्तिका राजनीतिक मान्छे पनि छन्,’ उनले भने, ‘एउटा राजनीतिक प्रवृत्ति यस्तो छ। टुंगिन लागेको बेला रोक्छ त्यसले। माओवादी नेतृत्वलाई तह लगाउने, ठिक लगाउने र सिध्याउने अन्तिम हतियार यही हो। टुंग्याउन हुन्न भन्ने प्रवृत्ति छ।' 

उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग टीआरसीलाई अघि बढाउन दबाब दिन छिट्टै भेट्ने समेत बताए । 

कार्यक्रम सशस्त्र युद्धमा बेपत्ता पारिएका राजेन्द्र ढकालको परिवारले आयोजना गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर