• २०८१ पौष २४ बुधबार
  • Wednesday, 8 January, 2025

अवकाश हुनै लागेका ४ डीआईजीको पदावधी आकस्मिक मन्त्रिपरिषद बैठकबाट थप

काठमाडौं । आजै मध्यरातिबाट अवकाश हुन लागेका ससस्त्र प्रहरीका ४ डीआइजीको पदावधि सरकारले थप गरेको छ । 

डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्वाङ  र शम्भु सुवेदीको पदावधि १ वर्ष थप भएको हो । उनीहरू डीआईजीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जान लागेका  थिए । सशस्त्र प्रहरी बल प्र्रशिक्षणको प्रमुख छन् गिरी, ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख,  नेम्वाङ  नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुख छन् । 

सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजी पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चारवर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ ।

उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ ।

एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन् । आईजीपीको उमेर हद ५८ वर्षे छ । ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ ।

म्याद थप गरिएका अधिकृतहरू नेपाल प्रहरीबाट सशस्त्रमा गएका हुन् । चार जनाको म्याद थप भएसँगै सशस्त्र प्रहरी सेवा आयोगबाट भर्ना भएका अधिकृतहरू नेतृत्वमा पुग्नबाट रोकिने भएका छन् । मन्त्रिपरिषद्को सो निर्णयसँगै सिसम–१ का अधिकृतहरू डीआईजी दर्जाबाटै अवकाश हुने अवस्था आउन सक्ने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर