• २०८१ पौष २५ बिहीबार
  • Thursday, 9 January, 2025

अनुसन्धान चलिरहेकै बेला मीनबहादुर गुरुङसँग पैसा लिएका थिए मन्त्री धनराजले

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगीका आरोपित कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साढे ४ घण्टा सोधपुछ गरेको छ ।

पूर्वमन्त्री गुरुङले सहकारीबाट लिएको ऋण र भ्रष्टाचारी ठहर भएका व्यापारी मीनबहादुर गुरुङसँग भएको ‘शंकास्पद कारोबार’का सम्बन्धमा सीआईबीले घण्टौं सोधपुछ गरेको हो ।

सत्तारूढ कांग्रेसका सांसदसमेत रहेका पूर्वमन्त्री गुरुङसँग यसअघि कात्तिक अन्तिम साता पनि सीआईबीले बयानी कागज गरेको थियो ।

सहकारी ठगीकै अनुसन्धानका क्रममा नेता गुरुङ र भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबीच २०८१ वैशाखमा ‘संदिग्ध आर्थिक कारोबार’ भएको खुलेको थियो । त्यसपछि नेता गुरुङमाथि शंकास्पद लेनदेन र सहकारी ठगी दुवैमा सीआईबीले अनुसन्धान जारी राखेको छ ।

२०८० वैशाख २१ मा कांग्रेसबाट कानुनमन्त्री बनेका गुरुङ करिब एक वर्ष मन्त्री पदमा रहे । गुरुङ कानुनमन्त्री रहेकै बखत व्यापारी मीनबहादुर गुरुङ ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी किर्ते र संगठित अपराध आरोपमा सीआईबीको अनुसन्धानमा थिए भने ललिता निवास प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा पनि खेपिरहेका थिए ।

गुरुङ मन्त्री रहेकै बखत सीआईबीले भाटभटेनीका सञ्चालक गुरुङसहितलाई किर्ते र संगठित अपराध अभियोगमा मुद्दा चलाउन २०८० भदौ पहिलो साता जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिल कार्यालयसँगको समन्वयमा प्रहरीले जिल्ला अदालतबाट संगठित अपराध र किर्तेमा म्याद लिएर अनुसन्धान टुंग्याएकोमा सरकारी वकिल कार्यालयले ‘अस्वाभाविक’ रूपमा संगठित अपराधको दफा हटाएर किर्तेमा मात्र मुद्दा दायर गरेको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका व्यापारी मीनबहादुर किर्तेमा मात्र मुद्दा दायर भएपछि अदालतको आदेशमा धरौटी बुझाएर छुटेका थिए । त्यतिबेला ललिता निवास प्रकरणमा संलग्नविरुद्ध संगठित अपराधको दफा नलगाउन ‘शक्तिकेन्द्र’कै चलखेल मुख्य कारण रहेको अनुसन्धानमा संलग्न एक अधिकारीको भनाइ छ । त्यही चलखेलको फाइदा भाटभटेनीका सञ्चालक गुरुङसहितका प्रतिवादीले उठाएको र कोही हाजिरी जमानी तथा कोही धरौटी बुझाएर छुटेको उनले बताए ।

त्यसबखत कानुनमन्त्री रहेका गुरुङले प्रतिवादीमध्येका एक भाटभटेनीका सञ्चालक गुरुङसँग लिएको ‘शंकास्पद रकम’को साइनो के थियो भन्ने विषय नै अहिले मुख्य प्रश्न बनेको छ ।  

मितेरी सहकारीमा केही वर्षअघिसम्म नेता गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । महाप्रबन्धक रहेकै बखत सहकारीको बचत रकम अपचलन गरी उनी भागेकी थिइन् ।  

सहकारी ठगी प्रकरणबारे सञ्चारमाध्यममा निरन्तर खबरदारी र पीडितको उजुरीपछि बल्ल अघि बढेको अनुसन्धानका क्रममा गुरुङ दम्पतीबीच कागजी रूपमा ‘सम्बन्ध विच्छेद’ भएको दाबी गरिएको थियो । तर ‘सम्बन्ध विच्छेद’ नहुँदैको मितिमा सहकारीको रकम अपचलन भएको र त्यसपछि ‘मिलिभगत’मा सम्बन्ध विच्छेद गरेको आरोप पनि नेता गुरुङमाथि लाग्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर