एमाले सांसद, लेखा समिति सभापति पोखरेलका पीए पक्राउ
मोरङ । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । आज (बिहीबार) बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरेको हो । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।
मोरङ रङ्गेली नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ ।
पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् । ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ।
गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी अदालतको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् । बिहीबार बिहान उनका स्वकीय सचिव पक्राउ परेका हुन् । ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिवलाई जिम्मेबारीबाट हटाएका थिए ।
प्रतिकृया दिनुहोस