किन दिए जर्मनी र फ्रान्सले ट्रम्पलाई चेतावनी ?
जर्मनी र फ्रान्सले अमेरिका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्न सैन्य बल प्रयोग गर्ने धम्की नदिन चेतावनी दिएका छन् ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले सीमाहरूको अखण्डताको सिद्धान्त सबै देशमा लागू हुने भन्दै त्यो सानो होस् वा शक्तिशाली जुनसुकै देशमा लागु हुने बताए ।
फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोटले युरोपेली संघले आफ्नो सार्वभौम सीमामाथि अन्य देशहरूले आक्रमण गर्न दिने कुरा सोच्न समेत नसकिने बताए ।
मंगलबार ट्रम्पले ग्रिनल्यान्ड किन्न इच्छा पुनः व्यक्त गर्दै राष्ट्रिय र आर्थिक सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताएका थिए ।
उनले पहिलो कार्यकालमा सन् २०१९ मा ग्रिनल्यान्ड किन्न चाहेको कुरा सार्वजनिक गरेका थिए ।
लामो समयदेखि अमेरिकी सहयोगी रहेको डेनमार्कले ग्रिनल्यान्ड बिक्रीका लागि उपलब्ध नरहेको भन्दै यो यसका त्यहाँका बासिन्दाहरूको हो भन्दै प्रष्ट पारेको छ ।
ग्रिनल्यान्डका प्रधानमन्त्री म्युटे एगेडे ले पनि क्षेत्र बिक्रीमा नरहेको बताए ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रिनल्यान्ड ग्रिनल्यान्डवासीहरूको हो, र यसको भविष्यको निर्णय उनीहरूले मात्र गर्न सक्छन् भनेका छन ।
प्रतिकृया दिनुहोस