कास्की जिल्ला अदालतबाट धराैटीमा छुटे रवि लामिछाने
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुनेगरी ८४ दिन पछि छुटेका छन्।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उक्त आदेशसँगै लामिछानेले ६५ लाख रूपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर हिरासत मुक्त भएका हुन् । मुक्त भएलगत्तै उनलाइ फेरि पक्राउ गर्ने तयारी गरेपनि कास्की प्रहरीले कानुनी परामर्श पछि रविलाइ छाेड्न तयार भएकाे हाे ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकाे थियाे ।
उनी २ कात्तिकमा पक्राउ परेकोमा अनुसन्धानका लागि प्रहरीले ८४ दिन थुनामा राखेको हो। काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी नेता डिपी अर्यालको रोहवरमा उनी छुटेका हुन्।
उनीविरुद्ध काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको मुद्दा दायर छ। त्यस्तै चितवन, कास्की र पर्सामा पनि मुद्दा दायरको तयारी भइरहेको छ।
बिहीबार कास्की जिल्ला अदालतले सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो। पूर्वडिआइजी छविलाल जोशीलाई पनि ८८ लाख रूपैयाँ धरौटी माग गरिएको थियो।
लामिछाने र जोशीविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको आरोप समेत छ। उक्त सहकारीमा प्रतिवादी रहेका दुई जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ।
लामिछानेको काठमाडौंमा थुनछेक बहस सकिएपछि अन्य जिल्ला अदालत रूपन्देही, चितवन र पर्सामा पनि उपस्थित हुनुपर्नेछ।
प्रतिकृया दिनुहोस