ओलीले सत्ता हस्तान्तरण गर्नेमा कांग्रेसलाई शंका, देउवाका विश्वास पत्र साउदले भनेः 'गठबन्धनको औचित्यमाथि प्रश्न'
काठमाडौं । संविधानको संशोधन २०८७ सालमा मात्रै गर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति संविधान र सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको सहमतिविपरीत भएको कांग्रेस नेता एनपी साउदले बताएका छन् ।
प्रधानमन्त्री ओलीले सत्तारुढ गठबन्धनको भविष्यमाथि प्रश्न उठ्ने अभिव्यक्ति दिएको सांसदसमेत रहेका कांग्रेस केन्द्रीय सदस्यले बताएका छन् ।
कांग्रेसको जिल्ला समिति बर्दियाले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले प्रधानमन्त्रीको अभिव्यक्तिले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठेको बताए ।
'१० वर्षपछि संविधानमा पुनरावलोकन गर्नेर्छौं र सबै पक्षको बारेमा मूल्यांकन गर्नेर्छौं भनेका छौं । प्रधानमन्त्रीले २०८१ मा हैन २०८२ मा १० वर्ष पुग्ने हुनाले संशोधन गरौंला भनेको भए अलिकति हुन्थ्यो । अब २०८७ मा गरौं भनेको कुरा संविधान र ७ बुँदे सहमतिको खिलाफमा मा आएको छ,' साउदले भने, 'प्रधानमन्त्रीले कहाँ के भन्नुभएको हो भनेर कांग्रेसले उचित समयमा प्रष्ट हुने कोसिस गर्नेछ । यसबारे पार्टीभित्र पनि बोल्नेछौं । प्रधानमन्त्रीको यस कुराले गठबन्धनको औचित्य, अस्तित्व, प्रभावकारिकता र भविष्यमामाथि प्रश्न उठाएको देखिन्छ ।'
प्रधानमन्त्रीले संविधान संशोधनका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर कांग्रेस गम्भीर हुन आवश्यक रहेको पनि साउदले बताए ।
'संविधानमा कमिकमजोरी छन्, यसलाई सच्याउनुपर्छ भनेर ७ बुँदे आधारमा गठबन्धन गर्यौं । हिजोमात्रै प्रधानमन्त्री केपी ओलीको महत्त्वपूर्ण अभिव्यक्ति आएको छ । जसमा उहाँले संविधान संशोधन २०८७ तिर हुन्छ भन्नुभएको छ । २०८७ तिर सविधान संशोधन गर्ने उहाँको रोडम्याप जुन छ त्यो बिल्कुल कसैले पनि सम्झन नसक्ने खालको छ,' उनले भने, 'संविधान संशोधन गर्नका लागि भनेर कांग्रेस एमालेको सातबुँदेको तेस्रो बुँदामा उल्लेख छ । कांग्रेस र एमालेको गठबन्धनले संविधान संशोधन गर्न पुगेन भने राष्ट्रिय सहमति गर्छौं भनेका छौं । त्यो प्रतिबद्धताको जगमा उभिएर बनेको प्रधानमन्त्रीले संविधान संशोधनको कुरालाई कार्यान्वयन गर्ने ७ बुँदे सहमतिलाई धरापमा पार्ने ?'
प्रतिकृया दिनुहोस