• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

कांग्रेसका अर्का नेताले पनि भनेः ‘यो गठबन्धनको औचित्य समाप्त भए सरह हो’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले २०८७ मात्रै संविधान संशोधन गर्छौ भन्नु गठबन्धनको औचित्य समाप्त हुनु सरह भएको टिप्पणी गरेका छन् । 

कांग्रेस–एमालेबीचको सात बुँदे सहमति नै संविधान संशोधनको लागि भएको भन्दै रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइले सत्ता गठबन्धनकै औचित्यमाथि प्रश्न उठाएको बताएका हुन् ।

‘२०८७ मा मात्रै संविधान संशोधन गर्छौ भन्नु गठबन्धनको औचित्य समाप्त हुनु सरह हो । किनभने गठबन्धन अन्ततः संविधान संशोधनको लागि निर्माण भएको हो । संविधान संशोधन नगर्ने हो भने उत्तरदायी राजनीति नहुने भयो,’ रिजालले भने, ‘कांग्रेस र एमालेले सत्ता चलाउन संख्या पुगेन भनेर सरकार बनाएका होइनन् । कसैलाई दण्डित गर्न पनि यो सरकार बनेको होइन । कसैलाई रोक्न र छेक्न पनि बनेको होइन । सात बुँदे सहमति पढ्दा बुझिने कुरा यही हो।’

सरकारले सबै दलसँग संवाद गरेर संविधान संशोधनको विषय अगाडि बढाउनु पर्ने उनले बताएका छन् । ‘सरकारले जनताको यो निराशा चिर्न सक्नुपर्‍यो’, रिजालले थपे, ‘जनतामा आशा जगाएर विश्वास दिलाउनु पर्‍यो । जनतासँग विश्वास लिएपछि अरू राजनीतिक दलसँग पनि संवाद गरेर संविधान संशोधन गर्ने भनेको हो ।’

प्रधानमन्त्रीको भनाइले कांग्रेस र एमाले सत्ताको लागि मात्रै मिलेको अर्थ दिने उनको भनाइ छ । ‘प्रधानमन्त्रीले भने जस्तो २०८७ मात्रै संविधान संशोधन गर्ने हो भने हामी खाली सत्ताको लागि अगाडि बढेका हौं भन्ने अर्थ लाग्छ । सत्ताकै लागि हो भने त प्रतिपक्षीविहीन सत्ता चलाउन खोजेको अर्थ हुन्छ,’ रिजालले भने, ‘हाम्रो लोकतन्त्रले प्रतिपक्षीविहीनताको सत्ता संरचनाको परिकल्पना गरेको छैन । यस्तो गर्न खोजिएको हो भने संसदीय व्यवस्था विपरीतको कुरा हो । सत्ता मात्रै प्रमुख कुरा हो भने सत्ता र सात बुँदेको औचित्य समाप्त भयो भन्नु सरह हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर