ओली पुगे सितल निवास, कांग्रेसकै नेतालाई शंका, माधव नेपाल भन्छन्, फेरि संसद विघटन गर्नसक्छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार भेट गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत लिएर गएका थिए ।
संसदको हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूले आग्रह गरिरहेका बेला सरकारले अधिवेशन बोलाउने कुनै सङ्केत गरेको छैन । अधिवेशन बोलाउन आलटाल गरेपछि अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरू सशङ्कित बनेका छन् । विपक्षी दलहरू दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने तयारीमा छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि नै सरकारले अध्यादेश ल्याउने व्यापक चर्चा भएको थियो । तर त्यसवेला अध्यादेशको विरोध भएपछि सरकार पछि हटेको विपक्षी दलहरूले बताउँदै आएका छन् । यद्यपि प्रधानमन्त्री निकटस्थहरू अध्यादेश ल्याउने सरकारको तयारी नभएको दाबी गर्दै आएका छन् ।
यसैबीच नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हटेको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरूमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताए ।
'संविधान संशोधनको कुराबाट वर्तमान सरकारका प्रधानमन्त्री पछि हट्नुभयो भन्ने आइरहेको छ । कति साँचो हो होइन थाहा भएन । २०८७ सम्म बस्ने उहाँको चाहना होला । अब हेरौँ । ०८७ सम्म चुनाव नै नगरी बस्ने हो कि त्यसमा पनि मान्छेले प्रश्न खडा गर्दछन् । संसद् नै भंग गर्ने मान्छेले संसद् भंग गरेर ठेलेको ठेलेकै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले मंगलबार पार्टी केन्द्रीय समितिको समापन गर्ने क्रममा २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनेका थिए । प्रधानमन्त्री ओलीको उक्त भनाइप्रति कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एनपी साउद, मिनेन्द्र रिजाललगायतले समेत आपत्ति जनाएका छन् ।
अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताए ।
'समाजवादी मोर्चालाई कसरी फेरि पुनःजागृत गर्ने, पुनः क्रियाशिल बनाउने भन्ने विषयमा नै केन्द्रित थियो । यसका लागि हामीले माघ २ गते समाजवादी मोर्चामा भएका ४ घटकहरु, नेकपा (एकीकृत समाजवादी), माओवादी, विप्लवको पार्टी र महिन्द्र राय यादवजीको नेपाल समाजवादी पार्टीसँग सल्लाह गर्छौं । समाजवादी मोर्चालाई हामीले क्रियाशील बनाउँछौँ,' उनले भने ।
शुक्रबार नै सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका थिए ।
भेटपछि प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाए । उनले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताए ।
'यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्नेकुरा मैले गम्भीर रुपले पार्लियामेन्ट र बाहिर पनि भनेको सुन्नुभएको छ नै । अप्राकृतिक भएकाले अब यो चल्दैन,' उनले भनेका थिए ।
प्रतिकृया दिनुहोस