• २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025

अमेरिका–भेनेजुएलाका तनावः राष्ट्रपति पक्राउ गर्नेलाई साढे दुई करोड डलर पुरस्कार

एजेन्सी । अमेरिकाले भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई पहिलेकोमा बढाउँदै २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।

गत शुक्रवार आगामी छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपतिमा मदुरोले शपथ लिएका थिए।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री दियोस्तादो कबेलोलाई पक्राउ गर्न सघाउने सूचना दिने वा उनी दोषी ठहर हुनसक्ने सूचनाहरू दिनेलाई पनि अमेरिकाले पुरस्कार घोषणा गरेको छ। 

रक्षामन्त्री भ्लादिमिर पद्रिनोबारे सूचना दिनेलाई अर्को एक करोड ५० लाख अमेरिकी डलर पुरस्कार तोकिएको छ।

यूकेले पनि न्यायाधीशहरूसहित सुरक्षा निकाय र सैनिक अधिकारीहरू सहित भेनेजुएलाका १५ जना शीर्ष अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकाले सन् २०२० मा मदुरोमाथि लागेको लागु औषध र भ्रष्टाचारको मुद्दाका कारण मदुरोलाई पक्राउ गर्न सघाउनेलाई पुरस्कार दिने घोषणा गरिएको जनाएको छ।

पाँच वर्षअघि अमेरिकाले मदुरो र उनको सरकारका अरू वरिष्ठ अधिकारीहरूमाथि "लागुऔषध-आतङ्कवाद"को आरोप लगाएको थियो।

अमेरिकाले मदुरो र अधिकारीहरूमाथि आफ्नो देशमा कोकिन आपूर्ति गरेर अमेरिकीहरूको स्वास्थ्यलाई कमजोर बनाएको आरोप लगाएको छ। मदुरोले उक्त आरोप अस्वीकार गरेका छन्।

अमेरिकाले भेनेजुएलामाथि गतवर्ष तेलमा पनि प्रतिबन्ध लगाएको थियो।

ब्रिटिश विदेश मन्त्रालयले प्रतिबन्धमा परेका अधिकारीहरू "प्रजातन्त्र, कानुनीराज र मानव अधिकार उल्लङ्घन"मा जिम्मेवार रहेको बताएको छ।

विदेशमन्त्री डेभिड लामीले मदुरोको सत्तालाई "धोकापूर्ण" भनेका छन्। शुक्रवार युरोपेली सङ्घले पनि भेनेजुएलामाथि प्रतिबन्ध थप बढाउने जनाएको छ।

युरोपेली सङ्घ ईयूले "विधिको शासन र प्रजातन्त्रको पुनर्बहालीमा उल्लेख्य प्रगति नभएको" कारण देखाउँदै यस्तो घोषणा गरेको हो।

यूके जस्तै ईयूले पनि भेनेजुएलाका १५ जना शीर्ष अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।

मदुरोका गतिविधिलाई "लज्जाजनक" भन्दै क्यानडाकी विदेशमन्त्री मेलनी जोलीले पनि नयाँ प्रतिबन्धहरू लगाइएको बताएकी छन्।

जोलीले क्यानडाका लागि "लोकतान्त्रिक प्रक्रियाको क्षयीकरण वा अभिव्यक्ति स्वतन्त्रताको नागरिक अधिकारमाथि दमन सह्य नहुने" बताएकी छन्।

मदुरो र उनको सरकारले पश्चिमा देशहरू र विपक्षी नेताहरूले लगाउँदै आएका कैयौँ आरोपहरू बारम्बार अस्वीकार गर्दै आइरहेको छ।

भेनेजुएलाले भने पश्चिमा देशहरूकाे आरोपहरूकाे खण्डन गर्दै आत्मनिर्भर अर्थनीति अपनाएर पश्चिमा नाकाबन्दीलाइ नै फिका सावित गर्दै आएकाे छ । पश्चिमाहरूकाे ताराे बनेका मदुराे भेनेजुएली जनताका लागि भने लाेकप्रिय पात्र बनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर