अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा यी हुन् युवा दाबेदार
काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागेपछि अध्यक्ष पदका लागि एक दर्जन युवा आकांक्षी देखिएका छन् ।
अखिल (क्रान्तिकारी) को पुस १४ मा भएको निर्वाचनमा उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएपछि ३२ वर्ष मुनिका युवाहरूबीच नेतृत्वको दौड सुरु भएको छ ।
माओवादीले विद्यार्थी संगठनमा लामो समयदेखि पुरानै नेता दोहोरिने परम्परा ताेड्दै उमेर हद लगाएर युवालाई अघि सार्ने निर्णय गरेको थियो । विद्यार्थीमा उमेर हद लागेपछि माथिदेखि स्थानीय तहसम्ममा करिब ६ सय विद्यार्थी नेताहरू बाहिरिएकाे बाहिरिने नेताहरूकाे दावी छ ।
संगठनबाट बाहिरिएका नेताहरूले पार्टीमा उचित जिम्मेवारी दिन माग गरेका छन् । यस विषमाय पूर्व अध्यक्ष रिन्जत तामाङले केन्द्रीय समिति बैठकमै जिम्मेवारी ताेकेर जान सुझाव दिएका थिए ।
अखिलको नेतृत्वका लागि माघ १२ मा प्रत्यक्ष निर्वाचित हुने माओवादी केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज हिमाल शर्माले जानकारी दिए ।
अखिल क्रान्तिकारीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङले निकटलाई नेतृत्वका लागि अघि सार्ने तयारी गरेका छन् । उपमहासचिव वर्षमान पुनले भने अध्यक्ष प्रचण्डकाे उम्मेदवार नै आफ्नाे उम्मेदवार हुने प्रतिक्रिया दिने गरेका छन् ।
नेतृत्व चयनका लागि सातै प्रदेशमा निर्वाचन हुनेछ । माघ ५ मा मनोयन गरी १२ मा चुनाव गर्ने कार्यतालिका छ । विद्यार्थी संगठनका इञ्चार्ज शर्माले नेतृत्वका लागि ३२ वर्षमुनिका युवाहरुबीच कडा प्रतिस्पर्धा हुने बताए । उमेर हद लागू भएपछि यसले विद्यार्थी संगठनमा युवाबीच हुने प्रतिस्पर्धाले नयाँ तरङ्ग ल्याएको बताए ।
विद्यार्थी संगठनमा लागेको उमेर हदले ३२ वर्षमाथिका युवाहरु पार्टीका विभिन्न संगठनमा जोडिने भएकाले त्यसले सकारात्मक सन्देश दिएको बताए ।
अखिल क्रान्तिकारीमा पुस दोस्रो साता उमेर हद लगाउने/नलगाउने विषयमा प्रत्यक्ष निर्वाचन भएको थियो । करिब दुई हजार चार सय मतदाता रहेकामा १ हजार ७ सय ८९ मत खसेको थियो । मत परिणाम अनुसार उमेर हद लगाउनुपर्ने पक्षमा ९ सय र नलगाउने पक्षमा ८ सय ७९ मत खसेको थियो ।
पूर्वविद्यार्थी नेताहरूलाई जिम्मेवारी दिनेबारे उपमहासचिव शक्ति बस्नेत, इञ्चार्ज हिमाल शर्मा र अखिल क्रान्तिकारीकी निवर्तमान अध्यक्ष पञ्चा सिंहको कार्यद बनाएको थियो । कार्यदलको प्रतिवेदनका आधारमा पूर्वविद्यार्थी नेतालाई जिम्मेवारी दिनेबारे टुंगो लाग्न बाँकी छ ।
उमेरहद लागू भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिए ।
अबकाे नयाँ अध्यक्षका लागि सुदिन पाैडेल, विराज थापा, रोशन थापा मगर, प्रतीक कार्की, उपदेश यादव, विष्णु ढुङ्गेल, हेमन्त राई, प्रविना अधिकारी, तिर्सना हमाललगायत दाबेदार छन् ।
प्रतिकृया दिनुहोस