कुलमान हटाउन लागेका ऊर्जामन्त्री खड्कामाथि मन्त्रालय भित्रै कसले गर्याे हातपात ?
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाउन खाेजेपछि सर्वसाधारणकाे समेत ताराे बनेका कांग्रेस नेता तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ ।
मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । साे कुरा उनले मन्त्रीहरूकाे ब्रिफिङका क्रममा सभापति शेरबहादुर देउवासँग खुलाए । मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार खड्काले आफ्नो कुरा राख्ने क्रममा सुरक्षाको विषय उठाएका थिए । मन्त्री खड्काले बैठकमा भनेका थिए, 'गत शुक्रबार एक व्यक्तिले ममाथि मन्त्रालयमा नै दुर्व्यवहार गरेको थियो । गोरखाका एक पोखरेल थरका व्यक्तिले मन्त्रालयभित्रै ममाथि दुर्व्यवहार गरे ।'
त्यसपछि गृहमन्त्री रमेश लेखकले आफूलाई उक्त कुराको जानकारी किन नगराएको ? भनी खडकालाई प्रश्न गरेका थिए । लेखकले सोधेपछि मन्त्री खड्काले 'घटना सामान्य भएकाले खबर नगरेको' भन्ने जवाफ फर्काएका थिए । गृहमन्त्री लेखकले भने आफूमाथि हातपात भएको घटनाको बारेमा मन्त्रीले नै झन्डै हप्तादिनसम्म किन लुकाएको ? भनी प्रश्न गरेको बैठकमा सहभागी अर्का मन्त्रीले बताए ।
सिंहदरबार सुरक्षामा खटिएका प्रहरी स्रोतका अनुसार मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका-५, मुच्चोकका हरि पोखरेल हुन् ।
पोखरेल २०७९ को निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशसभा सदस्यको उम्मेदवार थिए । निर्वाचन आयोगको विवरणअनुसार उनी गोरखाको निर्वाचन क्षेत्र २(२) बाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए ।
पोखरेलले नेपाल टेलिभिजनको कार्ड बोकेर सिंहदरबार प्रवेश गरेको देखिएको प्रहरीले जानकारी दिएको छ । उनीबाट प्रहरीले बरामद गरेको कार्डको किसिममा 'निर्माता- पब्लिक स्पिकर नेपाल'लेखिएको छ ।
पोखरेललाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा बुझाएको थियो । तर, पछि मन्त्री खड्काको 'आदेश' मा प्रहरीले पोखरेललाई छोडेका थियो ।
प्रतिकृया दिनुहोस