कास्की र काठमाडौँबाट छुटेका रविविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्दै सरकार
काठमाडौँ । कास्की र काठमाडौँ अदालतबाट धरौटीमा छाडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज शुक्रवार रुपन्देहीमा मुद्दा दर्ता हुँदै छ।
रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रविविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीकी जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले बताइन्।
रविविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन र पर्सामा पनि मुद्दा दर्ताको अन्तिम तयारी छ। रुपन्देहीमा सकिएपछि चितवनमा र त्यसपछि पर्सामा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन भने आज दर्ता गरेको हो। त्यसमा १७ जनालाई प्रतिवादी बनाइएको छ।
पूरक अभियोजन आज दर्ता हुने र उक्त अभियोजनमा रविसहित छविलाल जोशीलगायत प्रतिवादी छन् । लामिछाने पाेखरा र काठमाडौँमा जस्तै रुपन्देहीमा पनि आफैँ उपस्थित भएर बयान दिनु पर्नेछ ।
कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख बैंक ग्यारेण्टी (धरौटी)मा रिहा भएका रवि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ अदालतमा ६० लाख प्रभु बैंक ग्यारेण्टी बुझाएर छुटेका छन्।
रविविरुद्दकाे सबैभन्दा गम्भीर प्रकृतीकाे मुद्दा पाेखरास्थित सूर्यदर्शन सहकारीकाे हाे । कास्की जिल्ला अदालतले धराैटीमा छाडेकाले काठमाडाैंले पनि साेही नजिर अपनाएकाे देखिन्छ । अब अन्य जिल्लाकाे हकमा पनि उनी धराैटीमा छुट्ने सम्भावना बलियाे बनेकाे छ ।
गत वैशाख ३ गते सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक जीबी राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। यस प्रकरणका मुख्य पत्र जीबी भने अहिलेसम्म फरार छन् ।
प्रतिवेदनमा रवि लामिछानेलाई व्यक्तिगत २ करोड र सामूहिक दायित्व २ करोड १३ लाख गरी ४ करोड १३ लाख रुपैयाँ, छविलाल जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७८ लाख सामूहिक दायित्व गरी ४ करोड २८ लाख बिगो दाबी माग गरिएको छ ।
सुप्रिमबाट २ करोडको ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ लामिछानेको खातामा गएको देखिएको छ । त्यसको भौचरसहित प्रहरीले प्रतिवेदनमा समेटेर २ करोडलाई व्यक्तिगत र अन्यलाई सामूहिक दायित्वमा उल्लेख गरेको छ ।
लामिछानेका नाममा २०७७ चैत १८ गते २ करोड रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको थियो । उक्त रकमको भौचर सुप्रिमका व्यवस्थाप सागर केसीले सदर गरेका थिए । सुप्रिमकी कर्मचारी रोशनी गुरुङले लामिछानेका नाममा जम्मा गरेकी थिइन् ।
रकम जम्मा गरेकै आधारमा प्रहरीले यसअघि रोशनीलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले उनलाई २ लाख धरौटीमा रिहा गरेको थियो । त्यस्तै प्रहरीले गितेन्द्रबाबु राईलाई ४ करोड ९ लाख रुपैयाँ थप बिगो, दीपक लामालाई ४ करोड २५ लाख, नरेश जिसीलाई ३ करोड, हेमन्त अधिकारीलाई २ करोड ७७ लाखसहित ४२ जनाबाट बिगो भराउने गरी मुद्दा दर्ता गर्न भनेको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब १२ करोड भन्दा बढी रकम अपचलन भएको छ । कास्की प्रहरी हिरासतमै रहेका बेला कात्तिक ८ गते जिल्ला अदालत रूपन्देहीबाट पनि लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला कात्तिक २७ गते भैरहवा ल्याएर रूपन्देहीको सुप्रिम सहकारी ऋण तथा बचत संस्थाको रकम अपचलन सम्बन्धमा बयान भएको थियो ।
तीन दिनसम्म बयान गराएर लामिछानेलाई पुनः कास्की नै लगिएको थियो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा गत वैशाख ३ गते रूपन्देही जिल्ला अदालतमा दर्ता भएको थियो । सुरु मुद्दाका आधारमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिकृया दिनुहोस