इजरायल-हमास युद्धविराम : छुट्ने ३३ जनाकाे सूचीमा विपिन जोशी अझै परेनन्
काठमाडौं । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।
हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् ।
हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गर्ने जनाएको छ । हमासका अनुसार डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन पहिलो दिन रिहा हुनेछन् ।
३१ वर्षीय डोरोन स्टेनब्रेचर पशु चिकित्सा नर्स हुन् । हमासले अक्टुबर ७ मा आक्रमण गर्दा उनी किबुज केफर अजाको अपार्टमेन्टमा थिइन् । २८ वर्षीया एमिली डमारीलाई किबुट्ज कफर अजाबाट बन्धक बनाइएको थियो । उनीसँग बेलायत र इजरायलको दोहोरो नागरिकता रहेको बताइएको छ । त्यस्तै २४ वर्षीय रोमी गोनेनले सुपरनोभा फेस्टिभलबाट भाग्न खोज्दा एम्बुसमा परेकी थिइन् ।
इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार हमासले बन्धक बनाएकामध्ये १ सय ९ जनालाई अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी मुक्त गरेको थियो । ८ जनालाई इजरायली सेनाले मुक्त गराएको थियो भने ३७ जनालाई मृत्युपछि जिम्मा लगाइएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको भने इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस