• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

'भकुण्डो' बने वामदेवः एकीकृत समाजवादीमा जान नदिने, एमालेमा नभित्राउने !

काठमाडौं । लामो समय नेकपा एमालेको राजनीति गरेर अहिले राजनीतिक मूलधार बाहिर परेका नेता वामदेव गौतम अहिले राजनीतिक बृत्तमा मजाकको विषय बनिरहेका छन् । 

एमाले विभाजन भएर एकीकृत समाजवादी बन्दै गर्दा दुर्वतर्फ नलागेर एकता अभियान चलाएका गौतम अहिले बुढेशकालमा पार्टी प्रवेशका लागि हतारिएका छन् । उनी कहिले माओवादी नजिक हुँदै प्रचण्डसँग हिमचिम बढाइरहेका हुन्छन् भने कहिले माधवकुमार नेपाल त कहिले एमाले प्रवेश गर्नका लागि हतारो लगाईरहेका हुन्छन् । 

केही दिन अघि उनी एकीकृत समावादीमा लगभग प्रवेश गरिसकेको चर्चा चलेको थियो । तर एकाएक कुरा मोडियो र उनी एमाले प्रवेश गर्ने पक्कापक्की भयो भनियो । 

तर एमाले र वामदेवलाई नजिकबाट चिन्ने कतिपय नेताहरु वामदेवलाई एकीकृत समाजवादीमा प्रवेशगर्नबाट ओलीले रोकेको तर एमालेमा भित्राउने सम्भावना नरहेको दावी गर्छ । 

एमालेले भने उनलाई भित्राउने र उचित जिम्मेवारी दिने तयारीकै लागि मंगलबार पदाधिकारी बैठक डाकेको बतार्ईएको छ । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकको एजेण्डामा गौतमलाई पार्टीमा भित्र्याउने र दिने जिम्मेवारी पनि रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् ।

यसअघि गौतमको प्रस्तावलाई बेवास्ता गर्दै आइरहेका ओलीले एकीकृत समाजवादीले भित्र्याउने तयारी गरेपछि तत्परता देखाएका हुन् ।

ओलीसँग संवाद हुनुअघि गौतम नेकपा एसका अध्यक्ष माधव नेपालसँग पटक पटक छलफल गरेर वार्ता समिति–समिति बनाएर एकताको तयारी गरेका थिए। नेकपा एसको कार्यालय आलोकनगरमै पुगेर नेकपा एसमा फर्किने निश्चित भएको बताएका थिए । 

नेता गौतमलाई अध्यक्ष नेपालले १० औँ महाधिवेशनले पारित गरेका प्रस्तावहरूलाई नि:शर्त स्वीकार्दै सहकार्य गर्न प्रस्ताव राखेको उनले बताए । गौतमसँग भएका नेताहरूको विगतको कामको मूल्याङ्कन हेरेर जिम्मेवारी दिन अध्यक्ष नेपाल तयार भइसके पनि एकता विफल हुनुको चार कारण खुलाए ।

एकीकृत समाजवादीमा प्रवेश गर्ने योजना असफल भएपछि गौतमले माघ ४ गते प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीसँग भेटावर्ता गरेका थिए । सोही भेटमा आफू एमाले फर्किन तयार भएको गौतमले ओलीलाई बताएका थिए ।

महासचिव कार्कीका अनुसार एमालेमा गौतमलाई संरक्षक वा वरिष्ठ नेतामध्ये एक पद दिन ओली सकारात्मक देखिएका छन् । एमाले छोड्दा गौतम उपाध्यक्ष थिए । उनीसहित अन्य नेताहरूको व्यवस्थापनको विषयमा माघ ६ गते पनि ओली र गौतमबिच सकारात्मक टेलिफोन वार्ता भएको कार्कीले बताएका छन् ।

वामपन्थी राजनीतिका पुराना र अनुभवी नेता गौतम २०४८, २०५१ को निर्वाचनमा बर्दिया–१ र २०७० सालको संविधानसभा निर्वाचनमा प्युठान–१ बाट निर्वाचित भएका थिए ।

२०५६, २०६४ र २०७४ सालको निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए । २०७९ को निर्वाचनमा भाग नै लिएनन् । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित भए पनि २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रिय सभामा मनोनीत गरेकी थिइन् । 

२०५३ सालमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका उनी २०६५ र २०७० मा पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर