• २०८१ माघ ११ शुक्रबार
  • Friday, 24 January, 2025

भारतको रेल दुर्घटनाः ७ नेपालीको ज्यान गएको पुष्टि

काठमाडौं । भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन् । तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुईको ठेगाना बिहीबार साँझसम्म खुलिसकेको छैन । 

मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी छन् । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

घटनास्थलमा रहेकी पत्रकार ललिता मलाती सिंहका अनुसार घाइते अछाम मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए । रेलवे अधिकारीका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए । त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।

कलबजार–४ चाल्साकी ६० वर्षीया जयकला भारतमा बस्ने छोराबुहारीले उपचारका लागि बोलाएपछि आइतबार अछामबाट महाराष्ट्रका लागि गएकी थिइन् । पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम उनका माइतीतिरका नातेदार हुन् । उनै नन्दारामको साथ लागेर छोराबुहारी र नाति भेट्न गएकी जयकला बुधबार रेल दुर्घटनामा परिन् ।

घटनास्थल पुगेका ज्वाइँ राजु विश्वकर्माका अनुसार बिहीबार साँझ जयकलाको शव परिवारले बुझेको छ । 

दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले घटनालगत्तै भारतीय अधिकारीसँग दूतावास सम्पर्कमा रहेको बताए । घटनामा ज्यान गुमाएका व्यक्तिको शवलाई उनको परिवारसम्म पुर्‍याउने कामका लागि समन्वय भइरहेको जानकारी उनले दिए । भारतीय अधिकारीले शवलाई परिवारसम्म पुर्‍याउने आफ्नो जिम्मेवारी रहेको बताएको दूतावासमा कन्सुलर रहेका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर