• २०८१ माघ १२ शनिबार
  • Saturday, 25 January, 2025

कार्यदलका नेता नै हेडक्वाटरको भन्दै छुट्टै टिम बनाउन ‘तलमाथि’ गरेपछि अखिल क्रान्तिकारीमा झन लफडा

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन भित्रका विवाद समाधान गरेर जारी राष्ट्रिय सम्मेलन सम्पन्न गराउने जिम्मेवारी पाएका नेताहरुले अध्यक्ष प्रचण्डको नाम लिएर आफ्नै टिम बनाउन थालेपछि समस्या थप भएको छ । 

पार्टीले उपमहासचिव शक्तिबहादुर बस्नेतको नेतृत्वमा पूर्व अध्यक्ष हिमाल शर्मा र निवर्तमान अध्यक्ष पंचा सिंहको टिम बनाएर ३२ वर्षे उमेरहद लागेकालाई पार्टीमा सेट गर्ने र जारी सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि गृहकार्य गर्ने जिम्मा दिएको थियो ।

सोही अनुसार यी तीन नेताहरु अहिले मुक्ति प्रधान नेतृत्वको निर्वाचन कमिटिसँग समन्वय गरेर हरेक दिन पेरिसडाँडामा बसिरहेका छन् ।

उनीहरुको काम र गृहकार्यले क्रान्तिकारी भित्रको विवाद समाधान गरेर नेतृत्व चयन सहज हुनुभन्दा पनि थप समस्या सृजना भएको र बस्नेत, शर्मा र सिंह आ आफ्ना कार्यकर्ताहरुलाई हेडक्वाटरको भन्दै सेट गर्न लागेको क्रान्तिकारीकै एक नेताले समाचार दैनिकलाई बताए । 

महासचिवका लागि उम्मेदवारी दिएका र प्रारम्भिक नामावलीमा नाम समेत सार्वजनिक भएका रोशन खड्काको नाम अन्तिम नामावली सार्वजनिक गर्दा उपाध्यक्षमा आएपछि नयाँ विवाद सतहमा आएको हो । 

बस्नेतले पदको दुरुपयोग गरी उम्मेदवार हेरफेर गराएको अर्का उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थीहरूको आरोप छ । 

यसले मतदानको संघारमा आइपुगेको क्रान्तिकारीको निर्वाचन बिथोल्न खोजेको एक पक्षको आरोप छ। ती नेताका अनुसार खड्काले विजय सापकोटा प्यानलबाट महासचिवको उम्मेदवारी दिएका थिए। सोही प्यानलमा रहेका सञ्जयकुमार महतोले पनि महासचिवमै उम्मेदवारी दिएका थिए।  

महतोलाई निवर्तमान अध्यक्ष पञ्चा सिंहले अघि सारेकी हुन् । महतोका लागि महासचिवमा सहज बनाउन खड्कालाई उममेदवारी नै नदिईएको उपाध्यक्ष पदमा नेता शक्ति बस्नेत समेत लागेर सारिएको अर्को पक्षको आरोप छ । यसबारे क्रान्तिकारीका नेता केशव रावलले फेसबुकमा समेत आपत्ति जनाएका थिए । 

रावत यसअघि उमेरहदको निर्वाचनमा समेत धाँधली भएको भन्दै छानविनको माग गर्ने नेता हुन् । 

उम्मेदवारको नामावली  सार्वजनिक हुँदा खड्काको नाम महासचिवबाट उपाध्यक्षको सूचीमा देखिएको छ।

ती नेताका अनुसार खड्कालाई उम्मेदवारी फिर्ता गर्न सो पक्ष र उमेरहदका कारण उम्मेदवार हुन नपाएका पक्षले बिहीबार दिनभरि जोडबल गरेका थिए। सहमति नभएपछि उनीहरुकै दबाबमा निर्वाचन आयोगले उनको नाम उपाध्यक्ष उम्मेदवारमा समावेश गरेको ती नेताले बताए।

अध्यक्षका उम्मेदवार सुदीन पाैडेलले पनि यसबारे आपत्ति प्रकट गरे ।

उनले लेखेका छन्, 'अखिल क्रान्तिकारीको तेइसौं राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका ढिलो गरी सार्वजनिक गरिएको र त्यसमा पनि उम्मेदवारहरूको नामावली जुन पदमा मनोनयन दर्ताको हो त्यसमा नियम बिपरित फेरबदल भएकोमा मेरो गभ्भिर ध्यनाकर्षण भएको छ । निर्वाचन आयोगको संस्थागत  धाँदलीप्रति घोर आपत्ति सहित कडा विरोध गर्दछु । निर्वाचनको प्रक्रियामा कुनै अवरोध भएमा यसको जिम्मेवारी स्वयं निर्वाचन आयोगले  लिने पनि जानकारी गराउँदछु। साथै संगठनात्मक स्वेततासहित अखिल क्रान्तिकारीले आफ्नो नेतृत्व आफ्नो प्रतिनिधिहरुबाट निर्वाद र भयरहित ढंगबाट निर्वाचन गर्न पाउने हक विपरीत कतिपय पार्टीका नेता नेतृत्वबाट विद्यार्थी प्रतिनिधिहरुलाई विभिन्न प्रकारले दबाब र प्रभावित गर्न खोजेको प्रति दुःख व्यक्त गर्दछु। अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया पार्टीको महाधिवेशन जस्तो नबनाएर विद्यार्थीहरूले आफ्नो नेतृत्व आफै चुन्ने सहज वातावरण बनाउनको लागि पार्टीका सबै आदरणीय नेतागणमा पनि हार्दिक अनुरोध अपिल गर्दछु साथै सम्पूर्ण प्रतिनिधि परिवेक्षक साथीहरुलाई अखिल क्रान्तिकारी निर्माणको यो पेचिलो समयमा आफ्नो मत योग्य उम्मेदवारलाई व्यक्त गर्नको लागि पनि विशेष अपिल गर्दछु ।'

अखिल क्रान्तिकारीको निर्वाचन आयोग प्रमुख मुक्ति प्रधानले दाबी विरोधअनुसार सूची प्रकाशन गरिएको बताए। 

सो प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका सापकोटालाई उपमहासचिव शक्ति बस्नेतको समर्थन छ। बस्नेतकै सचिवालयमा बसेका पूर्वउपाध्यक्ष तिलक भण्डारीले सापकोटालाई जिताउने भन्दै भित्रभित्रै अभियान चलाईरहेका छन् । भण्डारी अध्यक्ष प्रचण्डको सचिवालयमा रहेका पूर्व अध्यक्ष रमेश मल्लाका निकट मानिन्छन् ।

अखिलकाे राजनीतिमा भने उनी भिजेका पूर्णकालिन नेता हाेइनन् । केहीसमय अघिसम्म वर्षमान पुन समूहमै रहेका उनी स्थानीय एक हाइड्राे पावर कम्पनीका जागिरे रहेकाे प्रतिस्पर्धिमध्यका एकले दावी गरे ।

विवाद समाधान गर्न खटाईएका अर्का नेता हिमाल शर्माले पनि कोषध्यक्षमा आफू नजिकका व्यक्ति घुसाउन सफल भएका छन् । शर्माले आफ्नै बाग्लुङ जिल्लाको महेन्द्र चन्दलाई अघि सारेका छन् । 
यसरी संगठनको भद्रगोल मिलाउन आएका नेताहरुले नै आ आफ्नो उम्मेदवार अघि सार्ने काम गरेपछि निर्वाचन प्रकृयामाथि नै थप शंसय पैदा भएको असन्तुष्टहरुको आवाज छ ।

अध्यक्षका आकांक्षीहरूलाई खुमलटार बोलाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीको निर्वाचनमा हेडक्वार्टरको कुनै हस्तक्षेप नहुने भनेका थिए।

तर निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतले आ–आफ्ना पक्षबाट अध्यक्षको उम्मेवार बनाएका छन्।

उपदेश यादव माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकटका हुन्।

योगेन्द्र बुढालाई उपाध्यक्ष कृष्णबहादुर महरा र विश्वमणि थापालाई उपाध्यक्ष पम्फा भूसालको समर्थन छ।

माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२  पदका लागि ५०० जनाको उम्मेदवारी परेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर