• २०८१ माघ १२ शनिबार
  • Saturday, 25 January, 2025

रवि पक्षका वकिल रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस गर्दै

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा शुक्रबार पनि थुनछेक बहस हुनेछ । शुक्रबार प्रतिवादी रवि लामिछानेका वकिलले बहस गर्ने छन् । तर, सुरुमा जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । 

लामिछानेका तर्फबाट बहस गर्नका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायण कँडेल, यज्ञमणि न्यौपाने, सुधीर कर्णसहित १० जनाले वकालतनामा गराएका छन् । तर, बढीमा ३ जनाले मात्र बहस गर्ने र बहस सकेर शुक्रबार नै आदेश आउने वातावरण तयार गर्ने भन्दै लामिछानेको तर्फबाट वकालतनामा गराउनेको सङ्ख्या घटाउने प्रयास रास्वपाका नेताहरूले गरिरहेका छन् ।

जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार सुरुमा जाहेरवालाका कानुन व्यवसायीले बहस गर्ने र त्यसपछि प्रतिवादीको सुरु हुने बताए ।

जाहेरवालाको बहस सकिएपछि प्रतिवादीका वकिलहरूले बहस गर्ने र त्यसपछि सरकारी वकिलहरूको तर्फबाट जवाफी बहस हुने उनले बताए । जाहेरवाला, प्रतिवादी र जवाफी बहस सकिएको अवस्थामा शुक्रबार नै आदेश आउन सक्ने छ ।

बिहीबार भएको पहिलो दिन सरकारी पक्ष र जाहेरवालाको तर्फबाट बहस भएको थियो ।  

बुधबार नै उनको मुद्दाको पेशी ५ नं. इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीकोमा परेको थियो । बुधबार बयान भएपछि न्यायाधीश योगीकै इजलासमा बिहीबारबाट थुनछेक बहस सुरु भएको हो ।

माघ ६ गते आइतबार रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा जिबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोड बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगत तर्फ २ करोड बिगो दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर