हाेसियार ! १ हजार ५२ जना पठाओ–इनड्राइभ चालक पक्राउ

काठमाडाैं । पछिल्लो ७ महिनामा राजधानीमा मात्रै पठाओ–इनड्राइभजस्ता राइडमा अफलाइन सेवा चलाउने १ हजार ५२ जनालाई प्रहरीले कारबाही गरेको छ । अहिले अफलाइन बसेर सेवा दिन खोज्न त्यस्ता चालकलाई ड्युटीमै खट्ने प्रहरीबाट कारबाही गर्न सकिने व्यवस्था मिलाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दका अनुसार अफलाइन बसेर सेवा दिन खोज्नेहरूमध्ये १ सय ८८ जनालाई साउनमा, १ सय ५४ जनालाई भदौमा, १ सय २६ जनालाई असोजमा, ९५ जनालाई कार्तिकमा, १ सय ३५ जनालाई मंसिरमा, २ सय ६१ जनालाई पुसमा र ९३ जनालाई माघमा कारबाही गरेको छ ।
सार्वजनिक सवारी कम चलेको दिन, पानी परेको दिन राइड सेयरिङ कम्पनीले अन्य समयभन्दा बढी रकम असुलेर ग्राहकको बाध्यतामा खेल्ने गरेको गुनासो पनि छ । उनीहरूले लाग्ने र उल्लेख भएको भन्दा बढी रकम असुल्ने गरेको धेरैको अनुभव छ। काठमाडौंमा बस्दै आएका रविन दाहालले साँझको बेला राइड सेवा अनलाइनमा पाउनै मुस्किल हुने बताए । ‘पाए पनि अफलाइन सेवा मात्र दिन्छन्,’ उनले भने, ‘यसो गर्दा पैसा धेरै तिर्नुपर्ने हुन्छ । सुरक्षा पनि हुँदैन ।’
काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा राइड सेयरिङ एपको प्रयोग अहिले बढ्दो छ । सन् २०१६ मा नेपालमा पहिलो पटक राइड सेयरका रूपमा टुटल सञ्चालनमा आएको हो । अहिले सहरी क्षेत्रमा पठाओ–इनड्राइभजस्ता राइड यात्रुहरूले यात्राको सहज साधनका रूपमा लिने गरेका छन् ।
घटना १ : राइड बुक गरेर यात्रा गरेका एक यात्रुलाई छाउनी पञ्चकन्या विद्यालयनजिक एकान्त सडक किनारमा लगी मोबाइल तथा आधा तोला सुनको औंठी जबरजस्ती चोरी गरेका गणेश लामालाई काठमाडौं जिल्ला अदालतको पुस २२ गतेको आदेशले २४ दिन कैद र ५ हजार जरिवाना सुनायो । उनलाई प्रहरीले पक्राउ गरेर चोरीसम्बन्धी कसूरमा मुद्दा चलाएको हो ।
घटना २ : मंसिर १९ गते आफूलाई राइड चालक भन्ने प्रकाशले गालीगलौज गरी दुर्व्यवहार गरेको भनेर प्रहरीमा निवेदन परेको छ । तर प्रहरीले हालसम्म उनीबारे थप विवरण फेला पार्न सकेको छैन ।
घटना ३ : पठाओ चालकले दुर्व्यवहार गरेको भनी बानेश्वर वृत्तमा मंसिर २१ मा निवेदन दिएपछि दुवै पक्षलाई झिकाइ छलफल गरी प्रहरीले पुस २ गते मिलापत्र गराएको छ । मंसिर १९ गते चालक प्रदीप लिम्बूले महिलालाई गाली गरेको भनी निवेदन प्राप्त भई दुवैलाई कार्यालयमा बोलाई छलफलपश्चात् मिलापत्र भएको हो ।
भनेकै समयमा र भनेकै ठाउँबाट सुरक्षित रूपमा गन्तव्यमा पुग्ने सुविधाका साथै राइडरका लागि पनि मन लागेका वा फुर्सदका समयमा काम गर्न पाउने सुविधा यही व्यवसायले दिएको छ। तर पठाओ– इनड्राइभको संख्या बढेसँगै अपराधका घटनाहरू पनि बढ्दै गएका छन् । यी घटना जस्तै इनड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहार गरेको भनेर प्रहरीले चितवनकाका २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दका अनुसार चन्द्रागिरि नगरपालिका–४ बाट उनलाई पक्राउ गरिएको हो । गत बुधबार प्रहरीले यो घटना सार्वजनिक गरेको थियो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको चन्दले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस