• २०८१ माघ १६ बुधबार
  • Wednesday, 29 January, 2025

ट्रम्पको एउटै आदेशले हजारौं विस्थापित हुँदैछन्: प्रचण्ड

तेह्रथुम । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् ।

तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेश जाने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

उनले भने, ‘मलाई कताकता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको हो कि ? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकि भन्ने चिन्ता लागेको छ । म आमसमुदायलाई अपिल गर्न चाहन्छु । हामी हाम्रा छोराछोरीहरूलाई, हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफै धनी, आफै आत्मनिर्भर बन्नेबाटो तर्फ प्रेरित गरौँ । विदेश पठाउन हतार नगरौँ ।’

अध्यक्ष प्रचण्डले थप्दै भने, ‘विदेशमा पनि टुङ्गो छैन । कहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासी विस्थापित हुँदैछन् । कतिबेला हजारौं नेपालीहरू फर्केर नेपाल आउनु पर्ने हो, टुङ्गो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरू फर्किनुपर्ने हो, टुङ्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौँ । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौँ ।’

देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहिनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित भएका कारण नेपालीहरूले यहीँका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर